
सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहता को मृत्यु भएको छ। पेटमा गोली लागेका मेहताको उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच सुरु भएको विवाद हिंसात्मक बनेपछि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरेपछि पनि अवस्था नियन्त्रणमा नआएपछि गोली चलाएको जनाएको छ। स्थानीयवासीले भने सुरक्षाकर्मीले पूर्वचेतावनीबिनै अन्धाधुन्ध गोली चलाएको आरोप लगाएका छन्।


घटनामा स्थानीयतर्फ ९ जना घाइते भएका छन्। घाइते हुनेमा जयप्रकाश मेहता (पेटमा गोली), मिथलेश यादव (बायाँ कोख), मिथलेश मेहता (बायाँ कोख), अमलेश मेहता (बायाँ काँध), अमितकुमार यादव (बायाँ हात र कोख), रवीन्द्र मेहता (बायाँ तिघ्रा), अमितकुमार यादव (कम्मर), सुनीलकुमार मेहता (बायाँ घुँडा) र सुनीलकुमार मेहता (बायाँ कुहिना) रहेका छन्। उनीहरूमध्ये जयप्रकाश मेहता र रवीन्द्र मेहताको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।


त्यसैगरी झडपका क्रममा नेपाल प्रहरीका ८ जना र सशस्त्र प्रहरीका ५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्।

घटनापछि देवानगन्ज र आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। गृह मन्त्रालयले घटनाको सत्यतथ्य छानबिन गर्न सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
यसैबीच, घटनापछि सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र कोशी प्रदेश प्रहरी नेतृत्वमा समेत परिवर्तन गरिएको छ। सरकारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ।





