
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सुनसरीमा भएको गोलीकाण्डलाई लिएर प्रधानमन्त्रीमाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले काठमाडौँमा गोली चलेको घटनामा राजनीतिक नेतृत्वलाई दोषी देख्ने तर सुनसरीमा गोली चलेको घटनामा प्रहरी-प्रशासनलाई मात्रै दोषी देख्ने प्रवृत्तिप्रति प्रश्न उठाएका हुन् ।


उनले एकै प्रकृतिका घटनामा फरक–फरक दृष्टिकोण अपनाइनु प्रधानमन्त्रीको दृष्टिभ्रम हो वा चरम राजनीतिक पूर्वाग्रह भन्ने प्रश्न गर्दै त्यसले कस्तो सन्देश दिन खोजेको हो भन्ने बुझ्न नसकिएको उल्लेख गरेका छन् । महासचिव पोखरेलले घटना जहाँ भए पनि सत्य र न्यायको मापदण्ड एउटै हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले भनेका छन्- ‘यो दोहोरो मापदण्ड किन प्रधानमन्त्रीज्यू ? काठमाडौँमा गोली चल्दा राजनीतिक नेतृत्वलाई दोषी देख्ने, अनि सुनसरीमा गोली चल्दा चाहिँ प्रहरी-प्रशासनलाई मात्रै दोषी देख्ने ? एकै प्रकृतिको घटनामा फरक-फरक दृष्टिकोण राख्नु तपाईँको दृष्टि भ्रम हो कि चरम राजनीतिक पूर्वाग्रह ? यसले कस्तो सङ्केत गर्न खोजेको हो, बुझ्न सकिएन ! घटना जहाँ भए पनि सत्य र न्यायको मापदण्ड एउटै हुनुपर्छ ।’





