लुम्बिनी प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिरियो काँग्रेस, सबै मन्त्रीले बुझाए राजीनामा

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सरकारबाट औपचारिक रुपमा बाहिएको छ । नेकपा एमाले नेता चेतनारायण आचार्य नेतृत्वमा रहेको प्रदेश सरकारबाट काँग्रेसका पाँच मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

काँग्रेस संसदीय दलको तर्फबाट पाँचै जनाको राजीनामा मंगलबार मुख्यमन्त्री आचार्यलाई बुझाइएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।

लुम्बिनी प्रदेशमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहेका थिए ।

अब लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा नेकपासँगको सहकार्यमा सरकार बन्ने भएको छ । नेकपासँगको सहमतिमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ ।

८३ सदस्यीय प्रदेस सभामा एमालेका २९, काँग्रेसका २७, नेकपाका १३ राप्रपाका ४, जसपा नेपाल र जनमतका ३-३, जसपाका २ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक एक रहेका छन् ।