
४,७९७ दुर्घटना, तीव्र गति र मादक पदार्थ सेवन प्रमुख कारण; ट्राफिक कारबाहीबाट १३ करोड ५८ लाख राजस्व संकलन
बुटवल । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा भएका सवारी दुर्घटनामा ५८५ जनाले ज्यान गुमाएका छन् भने ८ हजार ५८ जना घाइते भएका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार प्रदेशका १२ जिल्लामा एक वर्षको अवधिमा ४ हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए। दुर्घटनामा ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो।


दुर्घटनामा १ हजार ७९९ जना गम्भीर र ६ हजार २५९ जना सामान्य घाइते भएका छन्। प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाका मुख्य कारण हुन्।
दुर्घटनामा संलग्न ६ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी ४ हजार २८६ मोटरसाइकल तथा स्कुटर रहेका छन्। त्यसपछि ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी, २१० बस तथा २०४ ट्रक र ट्र्याक्टर दुर्घटनामा परेका छन्।

यसैबीच, सोही आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख २० हजार ४८ सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। उक्त कारबाहीबाट रु १३ करोड ५८ लाख ६ हजार ६३ राजस्व सङ्कलन भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो।
– रासस





