नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि, नेपालमा बाघको संख्या ४ सय २९ पुग्यो

नेपालमा बाघको संख्यामा निरन्तर वृद्धि हुँदै गएको पाइएको छ । राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अनुसार नेपालमा बाघको संख्या वृद्धि भएको पाईएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व बाघ दिवसको अवसरमा बुधवार एक कार्यक्रमको आयोजना गरि उक्त सर्वेक्षण सार्वजानिक गरेको हो । सर्वेक्षणअनुसार नेपालमा हाल बाघको संख्या ४ सय २९ पुगेको छ । वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यकाअनुसार नेपालमा २००९ बाट क्यामेरा ट्रयाप विधिबाट बाघको गणना गर्न थालिएको थियो । सन् २००९ मा १ सय २१ रहेको बाघको संख्या बढेर हाल ४ सय २९ पुगेको हो ।  २०१३ मा १ सय ९८, २०१८ मा २ सय ३५, २०२२ मा ३ सय ५५ बाघ गणना गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँकाअनुसार राष्ट्रिय बाघ सर्वेक्षण २०८२ अन्तर्गत बाघको बासस्थानलाई ३ वटा कम्पलेक्समा विभाजन गरेर गरिएको थियो । चितवन–पर्सा, बाँके–बर्दिया र शुक्लाफाँट लालझाडी कम्पलेक्सको विभाजन गरेर बाघको गणना गरिएको हो । नेपालमा पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा रहेका छन् ।

उहाँले सर्वेक्षण राष्ट्रिय निकुञ्ज, वन क्षेत्र तथा बाघको बासस्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको जानकारी दिनुभयो । उहाँले राष्ट्रिय निकुञ्जभित्र २ किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइको ग्रिड बनाएर क्यामेरा राखी बाघको ट्रयाक गरिएको जानकारी दिनुभयो । उहाँले सर्वेक्षणका क्रममा बाघले क्षेत्र विस्तार गरको छ कि छैन भन्ने वारेमा पनि अध्ययन गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सन् २००९ देखी हामीले क्यामरा ट्रयाप गरेर बाघ गणना थालेका थियौँ, त्यतिवेला १२१ बाघ थियो भने बिस्तारै २०१३ मा १९८, २०१८ मा २३५, २०२२ मा ३५५ हुँदै अहिले ४२९ वटा पुगेको छ । नेपालको बाघको स्टेटसले नेपालभित्र मात्र हैन, यसको सरोकार अझै बाहिर बाघ पाउने देश र बाघ नपाउने देशका लागि पनि महत्वपूर्ण चासो हुने गरेको छ । हाम्रो सर्भे एरिया भनेको तराईको टाइगर पार्क पाच वटा छ, त्यसको वरिपरिको नेसनल फरेष्ट त्यसमा त्यो भित्र कम्युनिटी फरेष्ट पनि पर्छ र खास टाइगरको एउटा एबन्डेन्स सर्भे हुन्छ । नेशनल पार्क र वरिपरिको एरियामा हामीले यसको सर्भे गर्ने गरेका छौँ ।’

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाघ संरक्षणमा सरकारले काम गर्दै आएको बताउनु भयो । बाघ संरक्षण बहुपक्षीय सहकार्य, स्थानीय समुदायको सहभागिता र साझेदारीबाट मात्र प्रभावकारी हुने उहाँको भनाई छ । विश्वव्यापी रूपमा सन् २०१० मा करिव ३ हजार रहेको बाघको संख्या नेपालसहितका देशहरूको प्रयासबाट ५ हजार ५ सयभन्दा बढी पुगेको बताउँदै नेपालमा नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन र सामुदायिक साझेदारीका कारण बाघको संख्या निरन्तर बढेको बताउनु भयो । उहाँले बाघको संख्या बढेसँगै मानव–वन्यजन्तु द्वन्द्व पनि बढेकाले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण, होल्डिङ सेन्टरमा व्यवस्थापन तथा पीडित परिवारलाई छिटो राहत उपलब्ध गराउने कार्य भइरहेको जानकारी दिनुभयो । दीर्घकालीन व्यवस्थापनका लागि ‘टाइगर स्यान्चुरी’ र चिडियाखानाजस्ता विकल्पको अध्ययन भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले बाघको संरक्षणबाट स्थानीय जीविकोपार्जन, पर्यापर्यटन तथा ‘टाइगर टुरिजम’मार्फत रोजगारी र आय सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बाघ संरक्षण, ल्याण्डस्केप लेभल कन्जर्भेसन दृष्टिकोण, संघ, प्रदेश र स्थानीय तह, समुदाय र साझेदारी बीचको बहुपक्षीय सहकार्यबाट प्रभावकारी मात्र प्रभावकारी हुन्छ । स्थानीय समुदायको सहभागिता र स्वामित्व संरक्षणको आधारशिला नै हो । संरक्षणबाट स्थानीय जीविकोपार्जन र पर्या–पर्यटन, विशेष गरेर टाइगर टुरिजम मार्फत रोजगारी सिर्जना, आय आर्जन र सामुदायिक अपनत्व अभिवृद्धि गर्न सरकार जहिले पनि प्रतिबद्ध रहेको छ । विश्व विश्वमा सन् २०१० देखि सन् २०१० मा ३ हजार रहेको बाघको संख्या नेपालको समेत योगदानबाट अहिले ५५ सय भन्दा बढी पुगेको सुखद पक्ष हो । हाम्रो निरन्तरको प्रयासहरु जस्तै नियमित गस्ती, चोरी–सिकारी नियन्त्रण, बासस्थान व्यवस्थापन र सामुदायिक साझेदारीका कारण नेपालमा बाघको संख्या निरन्तर वृद्धि भएकोमा दुई मत छैन । तर हालको प्राथमिकता बाघको संरक्षण सँगसँगै यसको प्रभावकारी व्यवस्थापन पनि हो ।

बढ्दो बाघ संख्यासँगै मानव–वन्यजन्तु द्वन्द्वको घटना एकदमै धेरै बढी राखेको छ । सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण र होल्डिङ्ग सेन्टरमा व्यवस्थापन गर्दै पीडित परिवारलाई प्रभावकारी, छिटो तथा पीडितमैत्री तवरबाट राहत उपलब्ध गराउँदै आएको नै छ । दीर्घकालीन व्यवस्थापनका लागि जू, टाइगर स्यान्चुरी जस्ता विकल्पको अध्ययन पनि भइराखेको छ । नेपाल सरकार बाघ संरक्षणसँगै यससँग सम्बन्धित चुनौतीहरूको वैज्ञानिक तथा सन्तुलित व्यवस्थापनका लागि सम्पूर्ण र पूर्ण रुपमा प्रतिबद्ध रहेको छ । वैज्ञानिक बाघ गणनाबाट आज प्राप्त भएको तथ्याङ्कले भविष्यका संरक्षण नीति र योजनाहरुलाई प्रभावकारी बनाउन सघाउने छ । मानव सुरक्षा र बाघ संरक्षण बीच सन्तुलन कायम गर्दै प्रकृतिको यस अमूल्य उपहारबाट सामाजिक तथा आर्थिक लाभ प्राप्त गर्ने हाम्रो साझा लक्ष्य रहेको लक्ष्य र उद्देश्य रहेको छ ।’

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले बाघ संरक्षणलाई पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको भन्दै अब संरक्षणभन्दा बढी व्यवस्थापन, अनुसन्धान र जोखिम विश्लेषणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । उहाँले बाघ–मानव द्वन्द्व हुनसक्ने संवेदनशील क्षेत्रको पहिचान गरी विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । बाघको दीर्घकालीन जनसंख्या प्रक्षेपण (मोडलिङ) गर्नुपर्ने तथा समुदायमा केन्द्रित लगानी बढाउनुपर्ने उहाँको भनाई छ । बाघ संरक्षणलाई पर्यटन र आर्थिक गतिविधिसँग जोड्ने विकल्पबारे पनि अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले प्रकृतिको इकोसिस्टमको एपेक्स प्रजाति बाघको संख्या बढाएका छौं, बाघ पालेका छौं, जुन आफैंमा निकै महत्वपूर्ण उपलब्धि हो । अब हामी पहिलो चरणबाट दोस्रो चरणको कन्जर्भेसनमा पुगेका छौं । हामी कन्जर्भेसनमा राम्रो गर्दै गएका छौं । अब यसले इकोसिस्टमका सिद्धान्त अनुसार सर्टेन नयाँ मोडहरु लिने छन्, पक्कै पनि । संख्याहरु बढ्ने र इकोसिस्टमको प्रिन्सिपलमा यसका हाँगाबिगा जरा कहाँ–कहाँ कनेक्टेड छ, यसले कहाँ–कहाँ आफ्नो इम्प्याक्ट देखाउने छ, पोजेटिभ र नेगेटिभ भन्ने कुरा हाम्रो अध्ययनको विषय हुन्छ । पहिलो जेनेरेसनमा हामी संरक्षणमा मात्रै केन्द्रित थियौ भने अब मोर एनालिटिकल भएर जानुपर्ने आवश्यकता छ । अब संवेदनशीलताका साथ अगाडि बढ्नुपर्ने छ, हामीले संवेदनशील एरियाहरु घोषणा गरेर जानुपर्छ कि जहाँ बाघसँगको द्वन्द्व हुन सक्ने सम्भावित एरियाहरु कुनकुन स्थानीय तहहरु छन्, कहाँको समुदाय छ त्यसलाई म्यापिङ गरिकन त्यसलाई डिफ्रेन्ट्ली ट्रिट गरेनौँ भने त्यो समुदायमा यसले जोखिम निम्त्याउन सक्छ । त्यसैले अबको दिनमा हामी सबै बसेर संवेदनशीलताका विभिन्न लेयरहरु वर्गीकरण गरेर अगाडि बढ्नुपर्ने हुन्छ र त्यही अनुसार कार्यक्रमहरु र हाम्रा प्रयासहरुलाई केन्द्रित गर्नुपर्ने हुन्छ ।’

images

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य–सचिव डा. चिरञ्जीविप्रसाद पौडेलले ४ सय २९ बाघको संरक्षण सबैको साझेदारी र प्रतिवद्धताको परिणाम भएको उल्लेख गर्नुभयो । उहाँले अब मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण सबैभन्दा ठूलो चुनौती बनेको बताउनु भयो । उहाँले सरकारको नीतिअनुसार सहअस्तित्वको अवधारणामा आधारित कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाली सेनाका सहायक रथी पुरन घलेले बाघ संरक्षणमा नेपाली सेनाको ५० वर्षदेखिको भूमिका स्मरण गर्दै भविष्यमा पनि संरक्षण अभियानमा सेना प्रतिबद्ध रहने बताउनु भयो । उहाँले वातावरणीय ईको सिष्टमलाई जोगाएर राख्न पनि बाघ संरक्षण अपरिहार्य रहेको बताउनु भयो ।

images

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धिसागर पौडेलले बाघ गणनाबाट बाघको संख्या मात्र नभई आहारा प्रजाति, बासस्थान, अन्य वन्यजन्तु तथा अवैध गतिविधिसम्बन्धी महत्वपूर्ण तथ्यांक पनि संकलन भएको जानकारी दिनुभयो । प्राप्त तथ्यांकले भविष्यका संरक्षण तथा सहअस्तित्वसम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

images

विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बाघको तुलनामा कतिपय अवस्थामा चितुवाबाट बढी मानवीय क्षति हुने तथ्यांक रहेको उल्लेख गर्दै बाघमाथि अनावश्यक दोषारोपण नगर्न आग्रह गर्नुभयो । व्यवहार परिवर्तन अभियान, समस्याग्रस्त बाघको समयमै व्यवस्थापन तथा स्थानीय समुदायमा सचेतना विस्तारले मानवीय क्षति घटाउन सहयोग पुगेको उहाँले बताउनु भयो ।

बाघ सर्वेक्षणले बाघ र यसको वासस्थान संरक्षण र व्यवस्थापनसम्बन्धी नीति, योजना तथा कार्यक्रम निर्माण गर्न महत्वपूर्ण वैज्ञानिक आधार प्रदान गर्ने विभागले जनाएको छ । विभागका अनुसार सर्वेक्षणका क्रममा कूल ७ हजार ३ सय ९३ वर्ग किलोमिटर क्षेत्रमा १ हजार ८ सय ८४ वटा ग्रिड बनाइएको थियो । उक्त ग्रिडमा ३ हजार ६ सय ९६ वटा स्वचालित क्यामेरा जडान गरिएको थिए । कुल ग्रिडमध्ये ६ सय ३९ वटा ग्रिडमा बाघको तस्बिर क्यामेरामा कैद भएको थियो । सर्वेक्षणमा सबै स्टेशनमा राखिएका क्यामराहरुको कुल जम्मा दिन ३६ हजार १८१ रहेको र क्यामेरा ट्रयापबाट कुल ११ हजार ९ सय ११ वटा बाघको तस्बिरहरु प्राप्त भएको विभागले जनाएको छ । विभागले चार÷चार वर्षमा बाघको गणना गर्दै आएको छ ।