विद्युत बिक्री बढ्दा सुपर मादी हाइड्रोपावरको नाफा २७८ प्रतिशतले उकालो

काठमाडौं, १४ साउन । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमाससम्म उल्लेखनीय नाफा वृद्धि गरेको छ। विद्युत बिक्रीबाट हुने आम्दानी बढ्नु र वित्तीय खर्च घट्नु कम्पनीको नाफा सुधारको मुख्य आधार बनेको हो।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४२ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ११ करोड २७ लाख रुपैयाँ रहेको थियो। यसरी कम्पनीको खुद नाफा वार्षिक आधारमा २७७.६८ प्रतिशतले वृद्धि भएको छ।

समीक्षा अवधिमा विद्युत बिक्री आम्दानी १ अर्ब १२ करोड ६२ लाख रुपैयाँबाट बढेर १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ पुगेको छ। यता वित्तीय खर्च ५४ करोड ३६ लाख रुपैयाँबाट घटेर ४६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको कम्पनीको वित्तीय विवरणले देखाएको छ।

यद्यपि ह्रासकट्टी खर्च ३० करोड ६७ लाख रुपैयाँबाट ३१ करोड ७९ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ७ करोड २८ लाख रुपैयाँबाट ८ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष १४ करोड १४ लाख रुपैयाँबाट बढेर ४५ करोड १४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी (ईपीएस) १८.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति ४१५.२२ रुपैयाँ तथा तरलता अनुपात २.०८ प्रतिशत कायम भएको छ।