बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारलाई अनुभवी नेताहरू र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा सम्बोधन गर्दै उहाँले मुलुकका जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताउनु भयो ।

बैठकलाई सम्बोधन गर्दै दाहालले मुलुकमा विभिन्न कालखण्डका उतारचढाव झेलेका, लोकतन्त्रका लागि झन्डै सात दशकदेखि जेलनेल र यातना भोगेका एवं अप्ठ्यारा परिस्थितिमा निकास दिन सक्ने क्षमतावान् नेताहरूको ठूलो पंक्ति रहेको उल्लेख गर्नुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्वपूर्ण हुने बताउनु भयो ।

दाहालले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहंकारले काम गरेको भए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो । उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलहरूसँग रहेका संघर्षका अनुभवहरू वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी सिद्ध हुनसक्ने धारणा राख्नुभयो । प्रतिपक्षलाई अवमूल्यन गर्ने, अपमानित गर्ने र संवादबाट टाढा भाग्ने प्रवृत्तिले अन्ततः राष्ट्र, जनता र स्वयं सरकारलाई नै संकटमा पार्ने उहाँको चेतावनी छ ।

उहाँले भन्नुभयो, ‘म यो रोस्ट्रमबाट विशेषगरी प्रधानमन्त्री बालेन शाहज्यूलाई एउटा कुरा भन्न चाहन्छु । नेपालमा विगतका अनेकौँ राजनीतिक उतारचढाव पार गरेका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पंक्ति छ । कठिन परिस्थितिमा देशलाई निकास दिने क्षमता भएका, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर संघर्ष गरेका तथा लोकतन्त्रका लागि झन्डै ७० वर्षसम्म जेल, यातना र बलिदान सहेका नेताहरूको अनुभव हाम्रो सम्पत्ति हो । उहाँहरूको अनुभव लिन, संवाद गर्न र सहकार्य गर्न प्रधानमन्त्रीलाई केले रोकेको होला भन्ने प्रश्न उठ्छ । मलाई पनि एकपटक बोलाएर, तपाईंले पनि भ्रष्टाचारविरुद्ध अभियान शुरु गर्नुभएको थियो, सफल हुन केले दिएन ? भनेर सोध्न सकिन्थ्यो । अनुभवबाट सिक्न किन हिचकिचाउनु ? यदि म आफैँ पर्याप्त छु, मलाई कसैको आवश्यकता छैन भन्ने अहंकारले यस्तो भइरहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । नेपाली काँग्रेस, नेकपा (एमाले) लगायत अन्य राजनीतिक दलहरूसँग पनि लामो संघर्ष र शासन सञ्चालनका महत्त्वपूर्ण अनुभव छन् । ती अनुभव सरकारका लागि उपयोगी हुन सक्छन् । त्यसैले अनुभव लिन र संवाद गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । जति उदारतापूर्वक सहकार्य गर्न सकियो, त्यति नै देश, जनता र सरकारकै हित हुन्छ । सरकार जति संवादबाट टाढा जान्छ, प्रतिपक्षलाई अवमूल्यन वा अपमानित गर्छ, वा समाजका कुनै वर्ग, तह वा समुदायलाई बेवास्ता गर्छ, त्यति नै राष्ट्र, जनता र हामी सबै अप्ठ्यारोमा पर्न सक्छौँ । यही कुरातर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

जनताको सबै वर्ग, तह र तप्कालाई समेटेर अघि बढ्न सुझाव दिँदै दाहालले जति उदार मनले काम गर्न सकिन्छ, त्यति नै देश र जनताको हित हुनेकुरामा जोड दिनुभयो ।