
सिरियाको दक्षिणी प्रान्त दाराका बासिन्दाहरूले बारम्बार भइरहेको इस्राइली सैन्य घुसपैठका कारण आफ्नो दैनिक जनजीवन र जीविकोपार्जनमा गम्भीर असर परेको बताएका छन् । इजरायली सेनाको उपस्थितिले कृषि कार्यमा अवरोध पुग्नुका साथै स्थानीय परिवारहरूमा त्रास फैलाएको छ ।
हालैको एक सैन्य अभियानका क्रममा इस्राइली सेनाले सैन्य वाहन र बुलडोजर प्रयोग गरी यार्मुक बेसिन अन्तर्गतका मारिया र अल–आर्डा गाउँहरूमा प्रवेश गरेको थियो । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इस्राइली बलले त्यहाँ नयाँ सडक निर्माण गर्नुका साथै अस्थायी चेकपोइन्ट स्थापना गरेको छ । साथै, सैन्य गतिविधिमा अवरोध नगर्न चेतावनी दिँदै स्थानीय बासिन्दाहरूलाई पर्चाहरू समेत वितरण गरिएको छ ।
अल–आर्डाका बासिन्दा अबु आतेफले आफ्नो पीडा व्यक्त गर्दै भन्नुभयो, ‘सेनाले रातको समयमा अन्धाधुन्ध गोली प्रहार गर्छ र हामीलाई आफ्नै खेतबारीमा जान रोक लगाएको छ । यहाँको सम्पूर्ण जीविकोपार्जन कृषिमै निर्भर छ । खेतीपाती गर्न नपाएपछि हाम्रो जीवन निर्वाह असम्भव प्रायः भएको छ ।’


स्थानीयकाअनुसार कृषि यस क्षेत्रको अर्थतन्त्रको मेरुदण्ड हो । खेतबारीमा जान प्रतिबन्ध लागेसँगै धेरै परिवारहरू गम्भीर आर्थिक संकटमा परेका छन्। सैन्य उपस्थितिले विशेषगरी बालबालिकाहरूमा गहिरो मनोवैज्ञानिक असर पारेको छ । अर्का स्थानीय अली अल–अबिदिनले सुरक्षाको चिन्ताका कारण आफ्ना बालबालिका र परिवारलाई खेतमा पठाउन छाडेको बताए ।

यस्तै, मोहम्मद मुसा दखिलल्लाहले गाउँहरू सीमान्तकृत बन्दै गएको र आफूहरू विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीलाई जुनसुकै बेला पक्राउ पर्न सक्ने डर छ । अन्तर्राष्ट्रिय निकायहरूले यस विषयमा कुनै सुनुवाइ नगर्दा हामी असुरक्षित महसुस गरिरहेका छौँ ।’
तनाव बढ्दै जाँदा यार्मुक बेसिनका कतिपय बासिन्दाहरूले इस्राइली गस्ती टोलीले प्रयोग गर्ने सडकहरू अवरुद्ध पारेका छन् र सैन्य हस्तक्षेपको विरोध गर्दै पर्चाहरू वितरण गरेका छन् ।
ऐतिहासिक रूपमा, सन् १९७३ को अरब–इस्राइल युद्धपछि भएको १९७४ को ‘डिसेन्गेजमेन्ट सम्झौता’ ले गोलान हाइट्समा संयुक्त राष्ट्र संघद्वारा अनुगमन गरिएको ‘बफर जोन’ (गैर–सैनिक क्षेत्र) स्थापना गरेको थियो । यद्यपि, सन् २०२४ को अन्त्यमा बसर अल–असद सरकारको पतनपछि इस्राइलले उक्त सम्झौताको उल्लंघन गर्दै डिमिलिटराइज्ड जोनमा आफ्नो नियन्त्रण विस्तार गरेको छ ।





