
-केशव पन्थि , अर्घाखाँची ।
अर्घाखाँची, सन्धिखर्क। गैरसरकारी संस्था महासंघ अर्घाखाँचीको आयोजनामा जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था, विगतको योगदान, सम्भावना तथा चुनौतीबारे केन्द्रित वार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सन्धिखर्कस्थित द ओल्ड एरेस्ट होटलमा आयोजित कार्यक्रममा जिल्लाका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले गैरसरकारी संस्थाहरू सामाजिक परिवर्तनका महत्वपूर्ण साझेदार भएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, महिला तथा बालबालिकाको अधिकार, वातावरण संरक्षण, मानव अधिकार, समावेशी विकास लगायतका क्षेत्रमा गैरसरकारी संस्थाहरूले उल्लेखनीय योगदान दिएको चर्चा गर्नुभयो।


उहाँले विकासका कामलाई प्रभावकारी बनाउन स्थानीय सरकार, सरकारी कार्यालय र गैरसरकारी संस्थाबीच समन्वय, सहकार्य तथा विश्वासको वातावरण अझ मजबुत हुनुपर्नेमा जोड दिनुभयो। संस्थाहरूले पारदर्शिता, उत्तरदायित्व र जनअपेक्षाअनुसारका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।


सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय तह र गैरसरकारी संस्थाहरू एउटै उद्देश्यका साझेदार भएको उल्लेख गर्दै विकास निर्माण, सामाजिक रूपान्तरण तथा जनचेतनामूलक अभियानमा सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले स्थानीय आवश्यकताको पहिचान गरी समुदायमुखी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै दोहोरिने योजनाभन्दा परिणाममुखी कार्यक्रम आवश्यक रहेको बताउनुभयो।


प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले गैरसरकारी संस्थाहरूले कानुनी व्यवस्था, सुशासन र पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो। उहाँले संस्थाहरूले सरकारी निकायसँग नियमित समन्वय गर्दै लक्षित वर्गसम्म सेवा पुर्याउनुपर्नेमा जोड दिनुभयो। समाजमा सकारात्मक परिवर्तन ल्याउन सरकारी र गैरसरकारी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा इन्सेक अर्घाखाँचीका प्रतिनिधि कुलबहादुर नेपालीले “जिल्लामा रहेका गैरसरकारी संस्थाहरूको अवस्था, इतिहास, सम्भावना र चुनौती” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। उहाँले अर्घाखाँचीमा गैरसरकारी संस्थाहरूको स्थापना, विकासक्रम, सामाजिक योगदान तथा वर्तमान अवस्थाबारे विस्तृत जानकारी गराउनुभयो।


उहाँले विगतका वर्षहरूमा गैरसरकारी संस्थाहरूले विभिन्न सामाजिक, आर्थिक तथा मानवीय क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याए पनि पछिल्लो समय वैदेशिक सहयोगमा आएको कमी, स्रोत व्यवस्थापनको चुनौती, दक्ष जनशक्तिको अभाव, संस्थागत दिगोपना, पारदर्शिता तथा स्थानीय तहसँगको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा गैरसरकारी संस्थाहरूका तर्फबाट बाबुराम पौडेल र प्रेमनारायण गैरेले आफ्ना धारणा राख्दै जिल्लाको विकासमा गैरसरकारी संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँहरूले समुदायको वास्तविक आवश्यकतामा आधारित योजना सञ्चालन गर्दै जनविश्वास कायम राख्नुपर्नेमा जोड दिनुभयो।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवस जिसी, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता तथा जिल्लामा क्रियाशील विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लामा गैरसरकारी संस्थाहरूले गरेका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा देखिएका चुनौती समाधानका उपायबारे खुला छलफल गरेका थिए।

अन्तरक्रियामा सहभागीहरूले गैरसरकारी संस्थाहरूबीच आपसी समन्वय, सूचना आदानप्रदान, स्रोतको प्रभावकारी परिचालन, सुशासन, जवाफदेहिता तथा पारदर्शितालाई थप सुदृढ बनाउनुपर्ने सुझाव दिएका थिए। साथै स्थानीय सरकारसँगको साझेदारीलाई अझ मजबुत बनाउँदै समुदायको आवश्यकताअनुसार दिगो र प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो।

गैरसरकारी संस्था महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघका जिल्ला सदस्य फर्सुराम पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन महासंघका सचिव राधा नेपालीले गर्नुभएको थियो।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले अर्घाखाँची जिल्लाको समग्र सामाजिक तथा आर्थिक विकासमा गैरसरकारी संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सरकारी निकाय, स्थानीय तह र नागरिक समाजबीचको सहकार्यलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेका थिए।





