ककरोच जनता पार्टीले सेप्टेम्बरमा नयाँ अभियान शुरु गर्दै

काठमाडौँ । भारतको ककरोच जनता पार्टी (सिजेपी) ले आगामी महिनादेखि देशभर ‘’क्या बोलती पब्लिक अर्थात् के भन्छन् जनता ?’ अभियान सञ्चालन गर्ने भएको छ । अभियानमार्फत सर्वसाधारणसँग प्रत्यक्ष संवाद गरी उनीहरूको समस्या र देशको वर्तमान अवस्थाबारे धारणा संकलन गरिने पार्टीले जनाएको छ ।

महाराष्ट्रको छत्रपति सम्भाजीनगरमा सम्पन्न पार्टीको केन्द्रीय टोलीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा संस्थापक अभिजित दीपकेले अभियानअन्तर्गत देशभरका नागरिकसँग प्रत्यक्ष संवाद गरिने बताए । उनका अनुसार जनताले देशको अवस्थाबारे के सोचिरहेका छन् र उनीहरूले के–कस्ता समस्या भोगिरहेका छन् भन्ने बुझ्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो ।

बुधबारदेखि दीपकेको निवासमा सुरु भएको केन्द्रीय टोलीको बैठक बिहीबार सम्पन्न भएको थियो । बैठकमा पार्टीका आगामी संगठनात्मक गतिविधि र जनसम्पर्क अभियानबारे पनि छलफल गरिएको थियो ।

दीपकेले हालै नयाँ दिल्लीको जन्तर–मन्तरमा भएको विरोध प्रदर्शनले रोजगारीको समस्या विद्यार्थीमा मात्र सीमित नरहेको स्पष्ट पारेको बताए । आन्दोलनमा ठूलो संख्यामा बेरोजगार युवाको सहभागिताले रोजगारीको समस्या सबै वर्गका युवाको साझा समस्या भएको देखाएको उनको भनाइ थियो ।

उनले बेरोजगारी देशको प्रमुख समस्या भएकाले यसलाई राष्ट्रिय मुद्दा बनाइने बताए । साथै, शिक्षामा सुधार आवश्यक रहेको उल्लेख गर्दै विद्यालय तहदेखि नै शिक्षा महँगो हुँदै गएको र शिक्षालाई नाफा कमाउने माध्यम बनाइएको आरोप लगाए । यस अवस्थालाई परिवर्तन गर्न पार्टीले पहल गर्ने उनको भनाइ छ ।

दीपकेका अनुसार पार्टीले बेरोजगारीको मुद्दालाई प्रत्येक राज्य र जिल्लासम्म पुर्‍याउन बैठक, जनसंवाद, युवा सम्मेलन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेछ। रोजगारीको विषयमा व्यापक जनदबाब सिर्जना नभएसम्म प्रभावकारी समाधान सम्भव नहुने उनको तर्क छ ।

उनले युवाहरूलाई आफ्ना अधिकार र रोजगारीको विषयमा शान्तिपूर्ण तथा लोकतान्त्रिक ढंगले एकजुट हुन आग्रह गर्दै देशको विकासमा युवाको भूमिका सबैभन्दा महत्त्वपूर्ण भएकाले उनीहरूलाई रोजगारी उपलब्ध गराउनु सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्ने बताए । साथै, युवा संगठित भए बेरोजगारीको मुद्दाले राष्ट्रिय प्राथमिकता पाउने र नीतिनिर्माणमा समेत गम्भीर रूपमा स्थान पाउने विश्वास व्यक्त गरेका थिए ।