
काठमाडौँ । बलिवुडको बहुप्रतीक्षित चलचित्र ‘रामायण’ को ट्रेलर गत साता सार्वजनिक भएपछि यसको प्रदर्शन मितिबारे विभिन्न अड्कलबाजी भइरहेका थिए । ट्रेलरमा चलचित्र यस वर्षको दीपावलीमा प्रदर्शन हुने मात्र उल्लेख गरिएको थियो, तर ठ्याक्कै मिति सार्वजनिक गरिएको थिएन ।
यसपछि चलचित्र आइतबार, नोभेम्बर ८ अर्थात् दीपावलीकै दिन प्रदर्शन हुने वा शुक्रबार, नोभेम्बर ६ मा रिलिज हुने भन्ने चर्चा चलेको थियो । कतिपयले भने चलचित्र दीपावलीअघि नै अक्टोबर ३० मा प्रदर्शन हुन सक्ने अनुमान गरेका थिए । तर अब चलचित्रको प्रदर्शन मिति निश्चित भएको छ । ‘रामायण’ नोभेम्बर ६ शुक्रबारदेखि विश्वभर एकैसाथ प्रदर्शनमा आउने भएको छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार निर्माण पक्षले सबै प्रमुख अन्तर्राष्ट्रिय बजारमा एकै दिन चलचित्र प्रदर्शन गर्ने योजना बनाएको बताइएको छ । त्यसैले विश्वव्यापी रूपमा चलचित्र नोभेम्बर ६ मै प्रदर्शन हुनेछ ।

सामान्यतया दीपावलीअघिका केही दिन चलचित्र व्यापारका लागि कमजोर मानिने भए पनि चलचित्र क्षेत्रका जानकारहरूले ‘रामायण’ यसमा अपवाद बन्ने विश्वास व्यक्त गरेका छन् । चलचित्रप्रति दर्शकमाझ अत्यधिक उत्साह रहेकाले सुरुआतदेखि नै उत्कृष्ट व्यापार गर्ने अपेक्षा गरिएको छ । नोभेम्बर ९ सोमबारदेखि चलचित्रको कमाइले अझ ठूलो गति लिने अनुमान गरिएको छ ।
भारतभित्र चलचित्रको वितरण धर्मा प्रोडक्सन्सले गर्नेछ भने विदेश प्रदर्शनको अधिकार सोनी पिक्चर्सले प्राप्त गरेको छ । यसअघि टी-सिरिजले ‘रामायण’ का दुवै भागको सङ्गीत अधिकार ७५ करोड भारतीय रुपैयाँ अग्रिम सम्झौतामार्फत खरिद गरेको समाचार सार्वजनिक भइसकेको छ ।

चलचित्रमा रणबीर कपूरले भगवान राम, साइ पल्लवीले सीता, यशले रावण, सन्नी देओलले भगवान हनुमान तथा रवि दुबेले लक्ष्मणको भूमिका निर्वाह गरेका छन् । नितेश तिवारीको निर्देशन र नमित मल्होत्राको निर्माण रहेको यस चलचित्रको सङ्गीत ए. आर. रहमान र हान्स जिम्मरले तयार पारेका छन् ।
दुई भागमा निर्माण भएको ‘रामायण’ को दोस्रो भाग भने २०२७ को दीपावलीमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।





