अध्ययन भन्छ- चराको गीतमा सात होइन, आठ आधारभूत ध्वनि

काठमाडौँ । कोइलीको मिठो आवाजले सबैको मन लोभ्याउछ । संसारभर हजारौँ प्रजातिका चराहरू पाइन्छन्, जसका आवाज निकै संगीतमय हुन्छन् ।

यी चराहरूको गीत कसरी बन्छ भन्ने विषयमा गरिएको नयाँ अध्ययनले चराका गीत पनि संगीतका सात स्वरजस्तै केही आधारभूत ध्वनिमा आधारित हुने देखाएको छ । अध्ययनअनुसार चराका गीत मूलतः आठ प्रकारका आधारभूत ध्वनि वरिपरि केन्द्रित हुन्छन् ।

वैज्ञानिकहरूले संसारका विभिन्न भागमा पाइने ३ हजार १६० भन्दा बढी गाउने चराका प्रजातिको अध्ययन गरेका हुन् । गाउने चराका यी प्रजातिले विश्वका कुल चराका प्रजातिको करिब ६० प्रतिशत हिस्सा ओगट्छन् । अध्ययनले चराका आवाजसँग सम्बन्धित विभिन्न पक्षबारे नयाँ तथ्य सार्वजनिक गरेको छ। यसमा समयसँगै चराका आधारभूत ध्वनिमा कसरी परिवर्तन आयो भन्ने विषय पनि समेटिएको छ ।

अध्ययनका अनुसार चराका आधारभूत ध्वनि करोडौँ वर्षअघि उनीहरूका प्रारम्भिक पुर्खाकै समयमा विकास भएका थिए । त्यसपछि गाउने चराका करिब ८२ प्रतिशत वंशमा ती ध्वनि पुस्तौँपुस्तासम्म विकसित हुँदै अगाडि बढेको पाइएको छ ।

यो अध्ययन मुख्य रूपमा फ्रान्सका वैज्ञानिकको टोलीले गरेको हो । टोलीमा सेन्ट एटिएन विश्वविद्यालय र मोन्टपेलियर विश्वविद्यालयका अनुसन्धानकर्ता सहभागी थिए । अनुसन्धानका लागि प्रयोगशाला वा प्रत्यक्ष क्षेत्रमा गएर चराका गीत रेकर्ड गरिएको भने होइन । वैज्ञानिकहरूले सामुदायिक विज्ञानसम्बन्धी तथ्यभण्डारबाट संसारभरका ३ हजार १६० भन्दा बढी प्रजातिका चराका १ लाख १६ हजारभन्दा बढी गीतको विद्युतीय तथ्याङ्क सङ्कलन गरी विश्लेषण गरेका थिए ।

अध्ययनमा पहिचान गरिएका आठ आधारभूत ध्वनिमध्ये तीन प्रकारका सिटी र तीन प्रकारका तीव्र दोहोरिने ध्वनि विशेष रहेको बताइएको छ । तीव्र दोहोरिने ध्वनि भन्नाले एउटै प्रकारको आवाजलाई निकै छिटो दोहोर्‍याउने ध्वनिलाई जनाउछ, जुन किराको लगातार सुनिने आवाजजस्तै हुन्छ ।

चराको बोली र आवाजमा उनीहरू बस्ने वातावरणको पनि प्रत्यक्ष प्रभाव पर्ने अध्ययनले देखाएको छ । बाक्लो र ओसिलो जङ्गलमा बस्ने चराहरूले सामान्यतया सरल र समतल सिटी बजेजस्तो आवाज निकाल्ने गर्छन् । यस्तो आवाज बाक्ला पात, रूख र ओसिलो वातावरणबीच पनि सहज रूपमा टाढासम्म पुग्न सक्ने भएकाले उनीहरूका लागि उपयोगी हुने वैज्ञानिकहरूको भनाइ छ ।

यसको विपरीत, समशीतोष्ण तथा खुला क्षेत्रमा बस्ने चराहरूले तुलनात्मक रूपमा जटिल र तीव्र आवाज निकाल्ने गर्छन् । यस्ता आवाज छोटो दूरीमा सञ्चार गर्न तथा जोडी आकर्षित गर्न बढी प्रभावकारी हुने अध्ययनले देखाएको छ ।

अनुसन्धानका क्रममा वातावरणमा भइरहेको परिवर्तनले चराको बोलीमा समेत प्रभाव पारिरहेको स्पष्ट देखिएको वैज्ञानिकहरूले बताएका छन् । यसले चराको आवाज केवल जन्मजात विशेषता मात्र नभई उनीहरू बस्ने वातावरण र समयक्रममा हुने परिवर्तनसँग समेत जोडिएको देखाएको छ । यो अध्ययनको विस्तृत विवरण साइन्स जनरलमा प्रकाशित छ ।

images