अमेरिकी भिसा आवेदकलाई दूतावासको सचेतना : अध्यागमन इतिहासमा झुट नबोल्न आग्रह

काठमाडौं । अमेरिकी भिसाका लागि आवेदन दिने तथा अन्तर्वार्तामा सहभागी हुने व्यक्तिलाई आफ्नो विगतको अध्यागमन इतिहासबारे सत्य र पूर्ण विवरण दिन अमेरिकी विदेश मन्त्रालयले आग्रह गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार विगतमा भएका अध्यागमनसम्बन्धी नियम उल्लंघनबारे कन्सुलर अधिकारीहरूले जानकारी पाउन सक्ने भएकाले भिसा अन्तर्वार्ताका क्रममा कुनै पनि महत्वपूर्ण तथ्य लुकाउन वा गलत विवरण दिनु हुँदैन।

भिसा आवेदन वा अन्तर्वार्ताका क्रममा जानाजानी महत्वपूर्ण तथ्य लुकाउने, गलत विवरण दिने वा ठगी गर्ने प्रयास गरेमा अमेरिकी भिसाका लागि स्थायी रूपमा अयोग्य हुन सक्ने मन्त्रालयले जनाएको छ।

अमेरिकी अध्यागमन कानुनअनुसार तोकिएको अवधिभन्दा बढी अमेरिकामा बसेको, नक्कली वा गलत कागजात पेस गरेको तथा महत्वपूर्ण तथ्यमा गलत जानकारी दिएको अवस्थामा भिसा अस्वीकृत हुन सक्ने व्यवस्था छ।

विशेषगरी महत्वपूर्ण तथ्यबारे जानीजानी गलत जानकारी दिएको वा लुकाएको अवस्थामा INA Section 212(a)(6)(C)(i) अन्तर्गत स्थायी रूपमा भिसाका लागि अयोग्य ठहरिन सक्ने मन्त्रालयले स्पष्ट पारेको छ। केही अवस्थामा कानुनले अनुमति दिएमा अयोग्यताको ‘वेभर’ का लागि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

मन्त्रालयले अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा आफ्नो यात्रा, अध्यागमन इतिहास र आवेदनमा उल्लेख गरिएका विवरण पूर्ण रूपमा सत्य र स्पष्ट रूपमा प्रस्तुत गर्न आग्रह गरेको छ।