
-अनिल नेपाली, अर्घाखाँची ।
अर्घाखाँची । खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी रोक्न अर्घाखाँचीका विभिन्न ग्यास डिपोमा बजार अनुगमन गरिएको छ।


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा सदरमुकाम सन्धिखर्कलगायत आसपासका ग्यास डिपोमा अनुगमन गरिएको हो।


ग्यास आयातमा कुनै समस्या नरहेको अवस्थामा बजारमा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई समस्या पार्ने, ग्यास लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने गतिविधि नियन्त्रण गर्न अनुगमन गरिएको प्रहरीले जनाएको छ।


अनुगमनका क्रममा ग्यासको आपूर्ति, मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे जानकारी लिइएको थियो। प्रहरी निरीक्षक लामिछानेले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गर्ने गतिविधि भेटिए तत्काल कानुनी कारबाही गरिने चेतावनी दिनुभयो।


उहाँले आपूर्ति सहज हुँदाहुँदै कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै आगामी दिनमा पनि अनुगमनलाई थप कडाइ गरिने जानकारी दिनुभयो।

अनुगमनमा वरिष्ठ प्रहरी नायब निरीक्षक रामनारायण चौधरी लगायतको सहभागिता रहेको थियो।

तस्बिर/भिडियो : अनिल नेपाली, अर्घाखाँची.com














