मोतिहारीमा एकै परिवारका पाँच शव, आमा र चार सन्तानको एउटै चितामा अन्त्येष्टि

सञ्जय मिश्रा
रौतहट, २४ साउन। रौतहटसँग सीमा जोडिएको भारतको बिहारस्थित मोतिहारीमा एकै परिवारका पाँच जनाको शव पोखरीमा फेला परेपछि घटनाले सनसनी मच्चाएको छ।

एकै परिवारकी आमा र उनका चार सन्तानको शव भेटिएपछि मोतीहारी जिल्ला वभनौली पञ्चायत–६ शोकमा डुबेको हो।

पोखरीबाट ३५ वर्षीया सुशीला देवी र उनका चार छोराछोरीको शव बरामद भएको हो। मृतक बालबालिकामा ११ वर्षीया अमृता, ८ वर्षीय अविनाश, ६ वर्षीया पम्मी र ४ वर्षीय रवि कुमार रहेका छन्।

शनिबार पाँचै जनाको शव घरबाट एकैपटक उठेपछि गाउँको वातावरण स्तब्ध बनेको थियो। अन्ततः परिवारजन तथा स्थानीयले पोष्टमार्टम पछी पाँचै जनाको एउटै चितामा अन्त्येष्टि गरेका छन्।

घटनापछि मृतक सुशीला देवीका माइती पक्षले गम्भीर आरोप लगाएका छन्।

सुशीलाका भाइ प्रताप मठियाका श्यामनन्दन महतोले गोविन्दगञ्ज थानामा दिएको निवेदनमा आफ्नी बहिनी र उनका चार सन्तानको हत्या गरिएको दाबी गरेका छन्।

उनका अनुसार सुशीलालाई विवाहपछि दाइजोको विषयलाई लिएर लामो समयदेखि मानसिक तथा शारीरिक यातना दिइँदै आएको थियो। दाइजोका लागि प्रताडित गरेपछि सुशीला र उनका चार सन्तानको हत्या गरी शव पोखरीमा फालिएको हुनसक्ने उनको आरोप छ।

घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाएको छ। मृतक सुशीलाका श्रीमान धर्मेन्द्र महतोसहित आठ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरीले धर्मेन्द्रलाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।

images

घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पाँचै जनाको मृत्युको वास्तविक कारण, मृत्युको प्रकृति र शव पोखरीसम्म कसरी पुग्यो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

images

एकै परिवारका पाँच जनाको शव एउटै पोखरीबाट भेटिनु र त्यसपछि पाँचै जनाको एउटै चितामा अन्त्येष्टि गरिनुले घटनालाई थप रहस्यमय बनाएको छ।

मृत्यु हत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय भने अनुसन्धानकै क्रममा छ। पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानबाट घटनाको वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।

images

तर पाँच जनाको एकैपटक भएको मृत्युले मोतिहारीमा दाइजो प्रथा, घरेलु हिंसा र महिलामाथि हुने यातनाको विषयलाई पुनः गम्भीर रूपमा उठाएको छ।