
दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले जापानको नागासाकीमा खसालेको परमाणु बमको ८१ औं स्मृति दिवस आईतवार विभिन्न कार्यक्रमका साथ मनाइएको छ। विश्वमा बढ्दो भू–राजनीतिक तनावका बीच परमाणु निशस्त्रीकरणका लागि बलियो आह्वान गर्दै नागासाकीमा यो दिवस मनाइएको हो ।
सन् १९४५ अगस्ट ९ का दिन स्थानीय समयअनुसार बिहान ११ः०२ बजे अमेरिकी बमवर्षक विमानले नागासाकीमा प्लुटोनियम बम खसालेको थियो । सोही समयको स्मरण गर्दै समारोहमा एक मिनेट मौन धारण गरिएको थियो । जापानको हिरोशिमामा बम खसालिएको तीन दिनपछि नागासाकीमा भएको उक्त आक्रमणबाट सन् १९४५ को अन्त्यसम्ममा करिब ७४ हजार मानिसले ज्यान गुमाएका थिए भने ठूलो संख्यामा नागरिकहरू यसको दीर्घकालीन प्रभावबाट पीडित भएका थिए ।


वार्षिक स्मृति समारोहमा मन्तव्य राख्दै नागासाकीका मेयर शिरो सुजुकीले परमाणु हतियारलाई पूर्ण दुष्टताको संज्ञा दिनुभयो । उहाँले जापानी सरकारलाई आफ्नो ऐतिहासिक जिम्मेवारी पूरा गर्न आग्रह गर्दै भन्नुभयो, ‘जापानको संविधानमा उल्लेखित शान्तिको भावना र मुलुकको तीन गैर–परमाणु सिद्धान्त’ लाई अक्षुण्ण राख्न म सरकारसँग अपिल गर्दछु ।’

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सानाए ताकाइचीले जापानले तीन गैर–परमाणु सिद्धान्तलाई पालना गरिरहेको कुरा दोहो¥याउनु भयो । यद्यपि, उहाँको यो अभिव्यक्तिलाई कतिपयले अस्पष्ट र अन्योलपूर्ण मानेका छन् । यसअघिका प्रधानमन्त्रीहरूले ती सिद्धान्तहरू भविष्यमा पनि कायम राख्ने स्पष्ट प्रतिवद्धता जनाउने गरे पनि ताकाइचीको शब्द चयनले वर्तमान अवस्थाको मात्र चित्रण गरेको भन्दै विपक्षी सांसदहरूले आलोचना गरेका छन् ।
जापानले सन् १९७१ मा औपचारिक रूपमा अवलम्बन गरेको तीन गैर–परमाणु सिद्धान्तले परमाणु हतियार राख्न, निर्माण गर्न वा जापानी भूमिमा भित्र्याउन निषेध गर्दछ । यो सिद्धान्त दशकौंदेखि जापानको परमाणु नीतिको मेरुदण्डका रूपमा रहिआएको छ ।
तर पछिल्लो समय ताकाइची प्रशासनले सुरक्षा रणनीति परिमार्जन गर्ने क्रममा परमाणु हतियार भित्र्याउन नपाउने बुँदामा पुनरावलोकन गर्न सक्ने समाचारहरू जापानी सञ्चारमाध्यममा आएका छन् । यसैबीच, रक्षामन्त्री सिन्जिरो कोइजुमीले एक कार्यक्रममा परमाणु नीतिबारे ट्याबु नराखी खुला छलफल गर्नुपर्ने धारणा राखेपछि जापानी समाजमा थप चिन्ता र बहस शुरु भएको छ ।





