बामपन्थीलाई हराए लगत्तै कोलम्बियालाई अमेरिकाको एक अर्ब डलर सहयोग

काठमाडौं, २५ साउन। कोलम्बियाका नयाँ दक्षिणपन्थी राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिएको केही घण्टामै अमेरिकाले उक्त देशलाई १ अर्ब अमेरिकन डलर सहयोग गर्ने घोषणा गरेको छ।

डोनाल्ड ट्रम्पका प्रशंसक र चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपतिका धेरै नीतिहरूको समर्थन गरेका एबेलार्डो डे ला एस्प्रिएलाले आफ्नो पहिलो सम्बोधनमा लागुऔषध तस्कर समूह अर्थात कार्टेल विरुद्ध पूर्ण युद्ध गर्ने वाचा गरेको केही समय पछि सो अनुदान प्राप्त गरेका हुन्।

अमेरिकी विदेश मन्त्रालयले यो ‘सुरक्षा प्याकेज’ ले साझा लक्ष्यहरू हासिल गर्न मद्दत गर्ने बताएको छ । यी लक्ष्यहरूमा संगठित अपराध र अवैध आप्रवासन विरुद्धको लडाइँ समावेश रहेको छ। ट्रम्पले यी दुवै विषयमा डे ला एस्प्रिएलाका वामपन्थी पूर्ववर्तीको कार्यशैलीको बारम्बार आलोचना गर्दै आएका थिए।

आर्थिक कठिनाइ र आपराधिक गिरोहको हिंसा सम्बन्धी चिन्ताका बीच ल्याटिन अमेरिकी राष्ट्रहरू दक्षिणपन्थी धारतर्फ ढल्किरहेको पछिल्लो क्रममा यो शपथ ग्रहण समारोह भएको हो।

ट्रम्पले आफ्नो कार्यकालको उत्तरार्धमा ल्याटिन अमेरिकामा बढी चासो देखाएका छन् ।  उनले आफूसँग राजनीतिक रूपमा मेल खाने नेताहरूसँग सम्बन्ध बढाएका छन् भने असहमत हुनेहरूलाई बेवास्ता गरेका छन्।

चुनाव अघि ट्रम्पले डे ला एस्प्रिएलालाई ‘संयुक्त राज्य अमेरिकाको पूर्ण समर्थन र शक्ति प्राप्त रहने’ बताएका थिए र जुनमा निर्वाचित भएपछि कोलम्बियासँग अझ राम्रो सम्बन्ध हुने भविष्यवाणी गरेका थिए।

पेशाले वकिल र व्यवसायी रहेका डे ला एस्प्रिएलाले आफूलाई स्थापित राजनीतिक वृत्तभन्दा बाहिरको विद्रोही वा फरक धारको व्यक्तिका रूपमा प्रस्तुत गरेका छन् र अपराधविरुद्ध कठोर कदम चाल्ने वाचा गरेका छन्।

नजिकैको सैन्य आधार शिविरमा सैनिकहरूलाई सम्बोधन गर्दै दिएको आफ्नो पहिलो ओजस्वी आधिकारिक भाषणमा डे ला एस्प्रिएलाले सशस्त्र विद्रोहीलाई निस्तेज पार्ने, कोलम्बियाको पुनर्निर्माण गर्ने र तर्क वा बल प्रयोग गरेर लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरिसकेका छन ।

उनले आफैँलाई दिएको उपनाम ‘बाघको युग’ को सन्दर्भ उल्लेख गर्दै भने कि अपराधविरुद्ध राज्य कठोर र निर्णायक रूपमा प्रस्तुत हुने जनाइसकेका छन । उनले भने, ‘हाम्रो भूभागमा यस्तो एउटा पनि ठाउँ हुनेछैन जहाँ अपराधीहरूले आफूलाई सुरक्षित महसुस गर्न सकून्।’

images

यतिखेर डे ला एस्प्रिएलाका योजनाहरूको तुलना एल साल्भाडोर र इक्वेडरका दक्षिणपन्थी लोकतान्त्रिक नेताहरू नायिब बुकेले र ड्यानियल नोबोआले सञ्चालन गरेका यस्तै प्रकारका कडा कारबाहीहरूसँग गरिएको छ।

यो दृष्टिकोण उनका पूर्ववर्ती गुस्ताभो पेट्रोको नीति भन्दा बिल्कुलै फरक छ। पेट्रोले गुरिल्ला समूह, राज्य र आपराधिक गिरोहहरू बीचको आन्तरिक सशस्त्र द्वन्द्व समाधान गर्न ‘पूर्ण शान्ति’को रणनीति अपनाएका थिए, जसमा वार्ता र किसानहरूलाई कोकाको खेती रोक्न प्रोत्साहन दिने कुरालाई प्राथमिकता दिइएको थियो।

images

आलोचकहरूका अनुसार उक्त विधि असफल भयो। हालैका वर्षहरूमा सशस्त्र समूहहरूको सदस्यता बढेको छ भने कोलम्बिया भेनेजुएला सीमा क्षेत्रमा प्रतिद्वन्द्वी विद्रोही समूहहरूबीचको क्रूर द्वन्द्वका कारण गत वर्ष हजारौं मानिस विस्थापित भइसकेका छन ।

अमेरिकामा लागुऔषध र अवैध आप्रवासीहरूको ओसारपसारका लागि ट्रम्पले बारम्बार दोष दिने गरेका पक्षहरूमध्ये कोलम्बिया र पेट्रोका नीतिहरू पनि पर्दछन्।

images