मधेसमा विद्युत् प्रसारणका ठूला आयोजना तीव्र

काठमाडौँ । मधेस प्रदेशमा बढ्दो विद्युत् माग र औद्योगिक क्षेत्रको आवश्यकता पूरा गर्न प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माणलाई तीव्रता दिइएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ढल्केबर–बालगंगा १३२ केभी प्रसारण लाइन परीक्षणका रूपमा चार्ज भइसकेको छ। करिब २४ किलोमिटर लामो उक्त प्रसारण लाइन र बालगंगा विद्युत् केन्द्रलाई दसैँअघि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। आयोजनाले धनुषाका विभिन्न क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो बनाउने अपेक्षा गरिएको छ ।

सिरहा र सप्तरीमा बढ्दो विद्युत् मागलाई ध्यान दिँदै लहान–सुखीपुर र रुपनी–बोदेबरसाइन १३२ केभी प्रसारण लाइन तथा विद्युत् केन्द्र निर्माण अघि बढाइएको छ। यी आयोजनाले ग्रामीण तथा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नेछन् ।

रौतहटमा चन्द्रपुर–सरुअठा १३२ केभी प्रसारण लाइन निर्माणको काम अघि बढेको छ। करिब ३७ किलोमिटर लामो उक्त प्रसारण लाइनले गौर, मनपुर, सिम्रौनगढ र मौलापुर क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नेछ ।

त्यस्तै, बारा–पर्साको औद्योगिक क्षेत्रलाई लक्षित गर्दै हेटौँडा–परवानीपुर–पोखरिया १३२ केभी प्रसारण आयोजना अघि बढाइएको छ। परवानीपुरदेखि पोखरियासम्म करिब २१ किलोमिटर लामो चार सर्किट प्रसारण लाइन र पोखरियामा नयाँ विद्युत् केन्द्र निर्माण गरिनेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार यी आयोजनाहरू सञ्चालनमा आएपछि मधेस प्रदेशको विद्युत् आपूर्ति थप भरपर्दो हुनुका साथै उद्योग, व्यवसाय र घरेलु उपभोक्ताको बढ्दो माग धान्न सहयोग पुग्नेछ।