
मुम्बई, २७ साउन । गुलशन कुमारले आफ्नो जीवनकालमा संगीत उद्योगलाई नयाँ उचाइमा पुर्याएका थिए तर उनको निधनको २९ वर्षपछि पनि उनको सबैभन्दा ठूलो आम्दानी पसल, क्यासेट वा चलचित्रबाट नभई, उनले आफ्नो समयमा कल्पनासमेत नगरेको एउटा माध्यमबाट भइरहेको छ।
‘क्यासेट किङ’ का रूपमा परिचित उनले सन् १९८० र १९९० को दशकमा किफायती क्यासेटहरूमार्फत भक्ति संगीतलाई घर घरमा पुर्याएका थिए, आज त्यही संगीत मोबाइल फोन र इन्टरनेटमा अर्बौं पटक हेरिँदैछ।

यसको उत्कृष्ट उदाहरण गुलशन कुमारको उपस्थिति रहेको ‘श्री हनुमान चालिसा’ भिडियो हो। सन् २०११ को मे महिनामा टी–सिरिजको भक्तिसम्बन्धी च्यानलमा सार्वजनिक गरिएको यस भिडियोले सन् २०२५ को नोभेम्बरमा ५ अर्बभन्दा बढी पटक हेरिएको विश्व कीर्तिमान कायम गर्यो। अर्को शब्दमा भन्नु पर्दा, उनको निधन भएको करिब १४ वर्षपछि गुलशन कुमारको अनुहार विश्वभर चर्चा बटुल्ने एक डिजिटल कीर्तिमानको हिस्सा बन्यो।


यहाँको कथा केवल ५ अर्ब भ्युजको मात्र होइन। वास्तवमा, यो त्यही बजार हो, जसलाई गुलशन कुमारले आफ्नो समयमै पहिचान गरेका थिए। जब भारतमा मानिसहरू संगीत सुन्न क्यासेटहरू किन्थे, उनले भक्ति संगीतको बजार निकै विशाल रहेको महसुस गरे। सुरुवाती दिनहरूमा टी सिरिजले भजन र धार्मिक गीतहरूका क्यासेटहरू ठूलो परिमाणमा उत्पादन तथा सार्वजनिक गर्यो।
गुलशन कुमारको व्यावसायिक दूरदर्शिता यस कुराको बुझाइमा निहित थियो कि संगीत केवल चलचित्र हेर्नेहरूको आवश्यकता मात्र होइन। मन्दिर जाने, घरमै बसेर पूजाआराधना गर्ने वा साना सहरमा बसोबास गर्ने व्यक्ति पनि संगीतको ठूलो उपभोक्ता हुन सक्छ। यही बुझाइ पछि टी सिरिजको विशाल भक्ति संगीत संग्रह निर्माणको मुख्य आधार बन्यो।

‘श्री हनुमान चालिसा’ को डिजिटल यात्राको कुरा गर्दा यसको भिडियो १० मे २०११ मा सार्वजनिक गरिएको थियो र सन् २०२० मा यसले एक अर्बभ्युजको आँकडा पार गर्यो। सन् २०२३ मा यसले तीन अर्ब भ्युज पुर्यायो भने नोभेम्बर २०२५ मा पाँच अर्बको सीमा नाघ्यो। त्यस समयमा सञ्चारमाध्यमले यसलाई पाँच अर्ब भ्युजको कोसेढुङ्गा पार गर्ने भारतको पहिलो युट्युब भिडियोका रूपमा चर्चा गरेका थिए, जुन वास्तवमै एक उल्लेखनीय उपलब्धि हो ।


सामान्यतया व्यक्तिको मृत्युपछि उनीहरूको नाम पुस्तक, पुरस्कार वा स्मारकहरूमा मात्र सीमित रहन्छ तर गुलशन कुमारको हकमा भने त्यस्तो भएन। उनको नाम एउटा फस्टाउँदो व्यावसायिक संगीत भण्डारसँग जोडिरह्यो। पुराना भजनहरू नयाँ भिडियोका रूपमा सार्वजनिक गरिए, कालजयी संगीतले नयाँ डिजिटल मञ्चहरू पायो र टी सिरिजले इन्टरनेटमार्फत आफ्ना भक्तिसम्बन्धी सामग्रीहरूको पहुँच विस्तार गर्यो।
गुलशन कुमारको विरासतको अर्को पक्ष विभिन्न संस्था र पुरस्कारहरूका रूपमा देख्न सकिन्छ। ‘गुलशन कुमार फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया’ को नाम उनकै नामबाट राखिएको हो। सन् २०१९ मा टी सिरिजको शैक्षिक शाखाले ‘गुलशन कुमार अवार्ड अफ एक्सिलेन्स’ र ‘गुलशन कुमार योङ अचिभर्स अवार्ड’ सुरु गर्यो। यसरी उहाँको विरासत शिक्षाको क्षेत्रमा पनि विस्तार भयो। उनको निधन भएको २९ बर्ष भए पनि उनका नाममा अझै पनि डिजिटल माध्यमवाट पैसा कमाइ भइरहेको छ, यसमा सबैभन्दा बढी योगदान भक्ति संगितको रहेको छ ।




