
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले आफ्नो बुबालाई सम्झिँदै भावुक सन्देश सार्वजनिक गरेका छन् । उनले अन्तिम पटक विश्वकप खेल्न आफूलाई आग्रह गरिरहने बुबाको स्वास्थ्य विश्वकप सुरु हुन केही दिनअघि गम्भीर बनेको स्मरण गरेका छन् ।
मेसीका अनुसार प्रतियोगितामा पहिलोपटक उनका बुबा उनीसँगै उपस्थित हुन नसक्ने अवस्था बनेको थियो । तर आमाले बुबाको स्वास्थ्यमा सुधार आउने र यात्रा गर्न सक्ने अवस्था हुने बताउँदै उनलाई ढाडस दिइरहेकी थिइन् ।

मेसीले बुबालाई आफूहरू विश्वकपको फाइनलसम्म पुग्ने र त्यसपछि उनले यात्रा गरेर खेल हेर्न सक्ने बताइरहेका थिए । उनका लागि फाइनलसम्म पुग्नु फेरि एकपटक मुख्य लक्ष्य बनेको थियो । हरेक खेलपछि आफूले बुबाको सन्देशको प्रतीक्षा गर्ने गरेको तर सन्देश नआएपछि मात्रै अवस्था कति गम्भीर रहेछ भन्ने महसुस भएको मेसीले बताएका छन् ।


उनले विश्वकपमा सकेसम्म अगाडि बढेर बुबालाई अझ केही समय दिन र कम्तीमा एउटा खेल प्रत्यक्ष हेर्ने अवसर दिलाउन सकियोस् भन्ने सोचिरहने गरेको बताए ।
अर्जेन्टिना फाइनलसम्म पुग्यो । तर उनका बुबा खेल हेर्न उपस्थित हुन सकेनन् । मेसीले विश्वकप जितेर ट्रफी बुबालाई देखाउने र अर्को उपाधि उनलाई समर्पित गर्ने चाहना राखेका थिए। तर त्यो पूरा हुन सकेन ।

मेसीले आफूले शारीरिक रूपमा थप खेल्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । शरीरले साथ नदिए पनि आफूले आफ्नो क्षमताभन्दा बढी प्रयास गरेको उनको भनाइ छ ।
उनले प्रतियोगिताका क्रममा आफूले कहिल्यै शारीरिक रूपमा पूर्ण रूपमा सहज महसुस गर्न नसकेको पनि बताएका छन् ।


अर्जेन्टिना विश्व च्याम्पियन बन्न नसके पनि प्रतियोगिताका हरेक खेल आफूहरूले निकै आनन्दका साथ खेलेको मेसीले बताएका छन् ।
मेसीले बुबालाई सम्बोधन गर्दै भनेका छन्- ‘हामी च्याम्पियन बन्न सकेनौँ बुबा, तर हामीले हरेक खेलमा कति आनन्द लियौँ, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न । फेरि एकपटक तपाईं सही हुनुहुन्थ्यो, म त्यहाँ हुनुपर्थ्यो र खेल्नुपर्थ्यो । तपाईंले सधैँ भन्नु भएझैँ ।’
मेसीका बुबाको ६८ बर्षको उमेरमा यहि साउन २३ गते निधन भएको थियो ।





