नुवाकोटका उच्च पहाडी भेगका किसानहरु समयमा पानी नपरेपछि मकै रोप्न नपाएर मारमा परेका छन् भने तल्लो भेगमा लगाएको मकै सुक्न थालेको छ ।
जेठको तेस्रो साता बित्न लाग्दा पनि आकाशे पानीको भरमा बाली लगाउनु पर्ने किसानहरु खडेरीको कारण मकै रोप्न नपाएर मारमा परेका हुन् । यो बर्ष पानी नपरेपछि जिल्लाको फिकुरी, काहुले, भाल्चे, देउराली, बुङताङ, किम्ताङलगायतका गाविसमा लगाइएको मकै बाली नष्ट भएको छ भने बेलकोट, रातमाटे, जिलिङ लगायतका किसानले बारीमा मकै रोप्न नै पाएका छैनन् ।
गत बर्ष राम्रो बर्षाको कारण धान, गहुं, मकै लगायतका खाद्यान्न ९ दशमलव ८० प्रतिशतले बृद्धि भएको कृषि मन्त्रालयले जनाएपनि यो बर्ष नुवाकोटमा मकै, धान लगायतको उत्पादन घट्न सक्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । बर्षा नभएकै कारण जिल्लामा लगाइएका अन्य तरकारी बालि समेत प्रभावित बनेका छन् । RSS