
-अर्घाखाँची डटकम
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, हललाइनमा रहेको जय सन्तोषी माता चलचित्र मन्दिर लामो समयको बन्दपछि नयाँ प्रविधि र आधुनिक व्यवस्थापनसहित पुनः सञ्चालनमा आउने भएको छ।

केही वर्षदेखि बन्द रहेको चलचित्र मन्दिरलाई दर्शकको बदलिँदो अपेक्षा र आधुनिक सिनेमा हलको मापदण्डअनुसार पुनः सञ्चालन गर्ने तयारी भइरहेको हो। हलमा डिजिटल प्रोजेक्सन प्रणाली, आधुनिक स्क्रिन, गुणस्तरीय सराउन्ड साउन्ड सिस्टम तथा व्यवस्थित सिटिङ व्यवस्थापन लगायतका पक्षमा सुधार गरिँदैछ।
नयाँ प्रविधिबाट बलिउड, नेपाली तथा अन्य चलचित्रहरू नियमित रूपमा प्रदर्शन गर्ने तयारी गरिएको जनाइएको छ। चलचित्र प्रदर्शनका क्रममा उच्च गुणस्तरको दृश्य तथा ध्वनि अनुभव प्रदान गर्ने गरी हलको प्राविधिक पक्षलाई व्यवस्थित गर्न लागिएको हो।


हलका पूर्वसञ्चालक बलबहादुर कुँवर तथा सागर खड्का का अनुसार आवश्यक प्राविधिक तथा व्यवस्थापनसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ। केही प्राविधिक विषय मिलाउन समय लागेकाले सञ्चालनमा ढिलाइ भए पनि अब भदौ महिनादेखि नियमित रूपमा चलचित्र प्रदर्शन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो।

लामो समयदेखि सन्धिखर्कमा बन्द रहेको चलचित्र हल पुनः आधुनिक स्वरूपमा सञ्चालनमा आउने भएपछि स्थानीय दर्शकलाई चलचित्र हेर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता केही हदसम्म हट्ने अपेक्षा गरिएको छ। साथै यसले सन्धिखर्कको मनोरञ्जन तथा चलचित्र व्यवसायमा समेत नयाँ उत्साह थप्ने विश्वास गरिएको छ।
तस्बिर/भिडियो : अर्घाखाँची डटकम





