
काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ भ्रमणको क्रममा आइतबार काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी तथा भारतीय सेनाको आर्मी श्रीमती कल्याण संघकी अध्यक्ष श्रीमती कोमल सेठ पनि सहभागी छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसी. र उनकी धर्मपत्नीले स्वागत गरेका थिए । भ्रमणको क्रममा जनरल सेठलाई सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
औपचारिक भ्रमणका क्रममा उनले प्रधानसेनापति अशोकराज सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । त्यस्तै उनले रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने बताइएको छ । नेपाल र भारतका सेनाका प्रमुखहरू सन् १९५० देखि एकअर्को मुलुकका मानार्थ सेना प्रमुख रहने प्रचलन रहेको छ । नेपालका वर्तमान प्रधानसेनापति अशोकराज सिग्देलले २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट मनार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए । भारत सरकारले ३१औं सेना प्रमुखखको रूपमा सेठलाई ३० जुन २०२६ मा नियुक्त गरेको थियो ।


२- अस्ट्रेलियामा टप एन्ड सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विशेष कार्यक्रम आयोजना गरेर नेपाल ए टिमको बिदाई गरेको हो । बिदाई कार्यक्रममा क्यानका पदाधिकारीसहित खेलाडीको उपस्थिति रहेको थियो । क्यानले अस्ट्रेलियाको डार्विनमा आयोजना हुने टप एन्ड टी–२० प्रतियोगिता तथा त्यसपछि दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध हुने मैत्रीपूर्ण शृंखलाका लागि अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोली छनोट गरेको छ । टोलीमा अनिलकुमार साह (कप्तान), त्रितराज दास, मयन यादव, कुशल भुर्तेल, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रसिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल रहेका छन् । अस्ट्रेलियाको उत्तरी भूभाग क्रिकेटले आयोजना गर्ने टप एन्ड टी-२० प्रतियोगिता अगस्ट २० देखि ३० सम्म डार्विनमा सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालले अगस्ट २१ मा उत्तरी भूभाग स्ट्राइकसँग पहिलो खेल खेल्नेछ । त्यसपछि अगस्ट २२ मा बंगलादेश, अगस्ट २४ मा हुरिकेन्स, अगस्ट २६ मा एसीटी कमेट्स, अगस्ट २७ मा किङ्सम्यान र अगस्ट २९ मा भिक्टोरियासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितापछि नेपाल ‘ए’ टोलीले अस्ट्रेलियामै दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ टोलीसँग मैत्रीपूर्ण शृंखला खेल्ने क्यानले जनाएको छ ।

३- सडक अनुगमनका लागि सुदूरपश्चिम पुगेका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल अस्वस्थ भएपछि बैतडीबाट हेलिकप्टरमा धनगढी ल्याइएको छ । आइतबार दार्चुलाबाट बैतडी पुगेका मन्त्री लम्साललाई बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि धनगढी ल्याइएको हो । उनलाई उच्च ज्वरो रहेको र खोकी समेत रहेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार मन्त्री लम्साल अनुगमनकै क्रममा दुई दिनअघि दार्चुला पुगेका थिए । तर बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या आएपछि उनको पूर्वनिर्धारित सडक अनुगमन कार्यक्रम प्रभावित भएको छ । उनलाई धनगढीबाट काठमाडौँ लगिने बताइएको छ ।
४- सामाजिक सञ्जाल एक्सले सरकारी निकायको अनुरोधमा कुनै सामग्री हटाउने वा त्यसमा रोक लगाउने निर्णयबारे प्रयोगकर्तालाई थप स्पष्ट जानकारी दिने भएको छ । एक्सका मालिक एलन मस्कले सामग्री व्यवस्थापन, सिफारिस प्रणाली र अनलाइन अभिव्यक्तिमा सरकारी हस्तक्षेपबारे पारदर्शिता बढाउने प्रयासस्वरूप यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् । मस्कले एक्समा लेख्दै सरकारले माग गरेअनुसार गरिने कुनै पनि सामग्री रोक्ने वा हटाउने काम अब प्रयोगकर्ताले स्पष्ट रूपमा देख्न सक्ने बताएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै सरकारले पोस्ट हटाउन वा खाता प्रतिबन्ध लगाउन अनुरोध गरेको भए प्रयोगकर्ताले त्यसबारे जानकारी पाउनेछन् । एक्सले यस्तो अनुरोध गर्ने सरकारी निकायको विवरणसमेत उपलब्ध गराउने योजना बनाएको छ । सम्भव भएसम्म सामग्री हटाउन वा प्रतिबन्ध लगाउन दिइएको कानुनी आधार तथा कारणसमेत देखाइनेछ । एक्स खरिद गरेपछि मस्कले प्रयोगकर्तालाई सामग्री कसरी व्यवस्थापन र प्राथमिकताका आधारमा देखाइन्छ भन्नेबारे जानकारी पाउने अधिकार हुनुपर्ने बताउँदै आएका छन् । क्रिप्टो बिफिङको एक प्रतिवेदनअनुसार मस्कको स्वामित्वमा आएपछि एक्सले विभिन्न अवधिमा सरकारबाट आएका सामग्री हटाउने अनुरोधमध्ये ८३ प्रतिशतदेखि ९८.८ प्रतिशतसम्म पालना गरेको छ । प्रतिवेदनमा एक्सको यो दर मस्कअघि रहेको व्यवस्थापनको समयभन्दा बढी रहेको उल्लेख छ। एक्सले आफ्नो सामग्री सिफारिस प्रणालीमा समेत पारदर्शिता बढाउने प्रयास गरिरहेको छ । कम्पनीले सिफारिस प्रणालीका केही भाग खुला स्रोतमा उपलब्ध गराउने प्रयासलाई समेत समर्थन गरेको छ । यसबाट अनुसन्धानकर्ता र प्रयोगकर्ताले कुन आधारमा सामग्रीलाई बढी वा कम प्राथमिकता दिइन्छ र कुनै पोस्ट कति मानिससम्म पुग्छ भन्ने विषय बुझ्न तथा परीक्षण गर्न सक्नेछन् ।

५- नेपाली काँग्रेसका सभापति गगन थापाले सोमबार संस्थापन इतर पक्षको भेला बारे पार्टी कार्यालयमा बोल्ने बताएका छन् । राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले गएको तीन दिन आफ्नो अहिलेसम्मकै धेरै निन्दा भएको सुनेको बताए । उनले भने- ‘मैले यो धर्तीमा जन्मेदेखि आजसम्म मेरो जति निन्दा भएको त्यति गएको तीन दिनमा भएको छ ।’ उनले सोमबार पार्टी कार्यालयमा संचारकर्मीहरुलाई बोलाएर चुनदेवी भेला बारे बोल्ने बताए । काँग्रेसको संस्थापन इतर पक्षले तीन दिनसम्म राष्ट्रिय भेला गर्दै संस्थापन पक्षलाई चुनौती दिएको छ । एक्सले प्रयोगकर्तालाई कुनै सामग्रीको पहुँच बढाइएको, घटाइएको वा त्यसमा पहुँचसम्बन्धी प्रतिबन्ध लगाइएको छ कि छैन भन्नेबारे पनि थप स्पष्ट जानकारी दिने लक्ष्य राखेको छ ।
६- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अभिव्यक्ति दिएको विषयलाई सकारात्मक रूपमा लिनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमा टिप्पणी गदै ओलीले देउवाको अभिव्यक्तिले नेपालका हिन्दू तथा सनातन धर्मावलम्बी परिवारमा नयाँ आशा र विश्वास जगाएको बताउदै नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि स्वागत गर्नुपर्ने बताएकी छन् । उनले भनेकी छन्- ‘देउवाज्यूले आफू हिन्दू धर्मावलम्बी भएको र सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा स्वीकार गर्ने अधिवेशनको निर्णय र उहाँको व्यक्तिगत अभिव्यक्तिले गम्भीर राजनीतिक अर्थ बोकेको छ । उहाँको उक्त अभिव्यक्तिले नेपालका ८१ प्रतिशत हिन्दू तथा समग्र सनातनी परिवारमा नयाँ आशा र विश्वास जगाएको छ । नेपालको मौलिक सभ्यता, संस्कृति, परम्परा र सनातन पहिचानलाई सम्मान गर्ने आवाज जहाँबाट आए पनि त्यसको स्वागत हुनुपर्छ ।’ नेपाललाई स्पष्ट जनभावना र राष्ट्रिय बहसविना धर्मनिरपेक्ष बनाइएको विषयमा अझै गम्भीर प्रश्न उठिरहेको भन्दै ओलीले देशको पहिचान, जनभावना र ऐतिहासिक निरन्तरताबारे खुला राष्ट्रिय बहस गर्नुपर्ने बताइन् । देउवाको अभिव्यक्ति व्यक्तिगत आस्थामा मात्र सीमित नरही नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिलाई अघि बढाउने आधार बन्नुपर्ने उनको भनाइ छ। ओलीले आस्था व्यक्तिगत भए पनि राष्ट्रिय पहिचान साझा विषय भएको उल्लेख गर्दै नेपालको सनातन पहिचानबारे अब इमानदार राष्ट्रिय बहस आवश्यक रहेको बताउदै यसले नेपालको मौलिक पहिचान र सनातन सभ्यताको सम्मानतर्फ राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’को बाटो खोल्नुपर्ने बताएकी छन् ।

७- इजरायली सेनाले हिजबुल्लाहको ‘बद्र इकाइ’का वरिष्ठ कमान्डर अबु हसन अलालाई मारिएको दाबी गरेको छ । इजरायली सेनाले सामाजिक सञ्जालमार्फत हिजबुल्लाहले इजरायली सैनिकविरुद्ध गर्दै आएका गतिविधिको जवाफमा कारबाही गरिएको जनाएको छ । सेनाका अनुसार हसन अला इजरायली सैनिकविरुद्धका विभिन्न आक्रमणको योजना बनाउने र कार्यान्वयनमा संलग्न थिए । उनले दक्षिणी लेबनानमा इजरायली सैनिकतर्फ विस्फोटक पदार्थ बोकेका मानवरहित विमान पठाउने गतिविधिमा समेत भूमिका खेलेको सेनाको दाबी छ । यसैबीच, अरब लिगले लेबनानमाथि भएका इजरायली आक्रमणको निन्दा गरेको छ । अरब लिगका अनुसार पछिल्लो दिन भएका आक्रमणमा ११ जनाको मृत्यु भएको छ । घटनापछि क्षेत्रमा तनाव खतरनाक रूपमा बढ्दै गएको लिगले जनाएको छ । अरब लिगले यस्ता आक्रमणले द्वन्द्व अन्त्य गर्ने तथा समाधान खोज्ने प्रयासमा असर पार्न सक्ने चेतावनी दिएको छ । अरब लिगका प्रवक्ताले इजरायलका नीति र गतिविधिले कब्जाको नीति अपनाउने पक्ष द्वन्द्वलाई लामो समयसम्म जारी राख्न, वार्तामा अवरोध पुर्याउन र भूमिमा नयाँ अवस्था थोपर्न चाहेको देखिएको आरोप लगाए । यस्ता प्रयास पूर्ण रूपमा अस्वीकार्य र निन्दनीय रहेको अरब लिगले जनाएको छ ।

८- नेपाल शिक्षक महासंघले शिक्षक-कर्मचारीका पेसागत समस्या र नीतिगत समाधानबारे शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको शिक्षा संवाद कार्यक्रममा आफ्नो संस्थागत उपस्थिति नराखिएको भन्दै आपत्ति जनाएको छ । महासंघले साउन ३० गतेदेखि सातै प्रदेशमा आयोजना गरिएको ‘शिक्षा संवाद’ मा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघलाई सहभागी नगराइएको भन्दै यसले शिक्षक-कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको नियत स्पष्ट भएको जनाएको छ । महासंघले मन्त्रालयलाई यस विषयमा गम्भीर भएर तत्काल आफ्नो निर्णय सच्याउन ध्यानाकर्षण गराएको छ । अन्यथा यसबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी मन्त्रालय स्वयंले लिनुपर्ने चेतावनी दिएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा शिक्षक-कर्मचारीका पेसागत विषयमा हुने नीतिगत छलफलमा आधिकारिक पेसागत संस्थाको सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा शनिबार सम्पन्न भएको भने आज जनकपुरमा कार्यक्रम हुँदैछ । अभियानअन्तर्गत सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरिने मन्त्रालयले जनाएको छ ।
९- नेपाल चेम्बर अफ कमर्सले पाँचतारे रेडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति आपत्ति जनाएको छ । चेम्बरले अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्दा होटलको व्यावसायिक प्रतिष्ठासँगै निजी क्षेत्र र समग्र पर्यटन उद्योगमा नकारात्मक असर पर्ने जनाएको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल आयल निगमको संयोजनमा गरिएको अनुगमनका क्रममा होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै टिप्पणी गरिएको थियो । त्यसको प्रतिक्रिया दिँदै चेम्बरले पाँचतारे होटलमा दैनिक करिब ५० देखि ६० वटा ग्यास सिलिन्डर खपत हुनु स्वाभाविक रहेको जनाएको छ । होटलमा करिब २०० वटा सिलिन्डर मौज्दात रहनु पनि होटलको आकार र दैनिक खपतलाई हेर्दा अस्वाभाविक नभएको बताउदै चेम्बरले व्यावसय सञ्चालनका लागि आवश्यक मौज्दातलाई मात्र आधार बनाएर त्यसलाई गैरकानुनी गतिविधिसँग जोडेर निष्कर्ष निकाल्नु उचित नहुने बताएको छ । चेम्बरले कृत्रिम अभाव, अवैध कारोबार तथा कानुनविपरीतका गतिविधिको समर्थन नगर्ने स्पष्ट पार्दै वैध व्यवसायलाई हतोत्साहित गर्ने गरी अतिरञ्जित प्रचार गर्दा लगानीको वातावरणमा नकारात्मक असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संवेदनशील हुन आग्रह गरेको छ । होटल तथा पर्यटनसहित अन्य व्यवसायमा आपूर्ति वा नियमनसम्बन्धी समस्या देखिए व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थासँग संवाद तथा समन्वय गरी समाधान खोज्नुपर्ने चेम्बरले जनाएको छ। तथ्यमा आधारित सूचना, जिम्मेवार अभिव्यक्ति र सरोकारवालाबीचको संवादबाट पर्यटन तथा आतिथ्य क्षेत्रको विश्वास र दिगो विकास सुनिश्चित गर्नुपर्नेमा पनि चेम्बरले जोड दिएको छ ।
१०- नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारी शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ । तीनदिने राष्ट्रिय भेला समापन गर्दै संस्थापनइतर पक्षले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले समन्वय गर्ने निर्णय गरेको हो । निर्णयमा १५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख गरिएको छ । शनिबार भएको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव र प्रतिवेदन प्रस्तुत भएका थिए । नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक र एनपी साउदले सम्बन्धित प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्दसत्रमा प्रस्तुत सबै प्रतिवेदन सुझावसहित पारित भएका छन् । समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफुले विशेष महाधिवेशन नमान्ने तर अदालतको आदेशलाई स्वीकार गर्ने बताएका थिए । उनले सो अवसरमा आफु हिन्दु भएको भन्दै बौद्ध धर्मप्रति पनि ठुलो सम्मान रहेको बताएका थिए । भेलामा देउवाले धर्मको कुरा गरेर काँग्रेस अब हिन्दु धर्मको पक्षमा जाने संकेत गरेको विश्लेषण गरिएको छ । योसँगै शुक्रबार उद्घाटन गरिएको भेला आज समापन भएको छ ।
११- नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विरोध गर्नेहरुलाई लामखुट्टेको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बस्नेतले अध्यक्ष ओलीको पछिल्लो मन्तव्यपछि पार्टीभित्रको एक समूहले कुना काप्चाका लामखुट्टेलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गरेको टिप्पणी गरेका हुन् । बस्नेतले एमालेभित्र दुई प्रकारका प्रवृत्ति रहेको, जसमा एकथरी नेता कार्यकर्ता पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै जनताको पक्षमा इमानदारीपूर्वक खटिएका छन् भने अर्को सानो समूह गुटबन्दी, नेतृत्वको आलोचना र आन्तरिक विवादमा केन्द्रित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरुलाई कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ। आजको आवश्यकता गुट–उपगुटमा विभाजित हुने होइन, पार्टीलाई एकताबद्ध, सुदृढ र गतिशील बनाउने हो। कुरा काटेर होइन, जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अगाडि बढने हो ।’ उनले पार्टी कार्यालयको चौर र क्यान्टिनमा बसेर नेतृत्वको विरोध गर्दै ‘चियाको कपमा क्रान्ति’ गर्ने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने दाबी गरेका छन् । बस्नेतले अहिलेको आवश्यकता गुट उपगुटमा विभाजित हुने नभई पार्टीलाई थप एकताबद्ध, सुदृढ र गतिशील बनाउने रहेको बताए । उनले आन्तरिक विवादभन्दा जनताको पक्षमा काम गर्दै परिवर्तन र समृद्धिको अभियानलाई अघि बढाउन सबै नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

१२- नेकपा एमालेका नेता झापट रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको वैचारिक बहस, नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रबारे आत्मसमीक्षा गर्न सुझाव दिएका छन् । रावलले सामाजिक सञ्जालमार्फत ओलीलाई सम्बोधन गर्दै हालै इलामको कार्यक्रममा व्यक्त अभिव्यक्तिले गम्भीर वैचारिक प्रश्न जन्माएको बताएका छन् । उनले आफ्ना धारणा पार्टीको बृहत्तर हितका लागि राखेको उल्लेख गरेका छन् । रावलले पार्टीमा चिया गफसँगै वैचारिक बहस गर्ने कार्यकर्तालाई ‘आवारा’ भन्नु उचित नभएको बताएका छन् । विगतमा संघर्षका क्रममा त्यही कार्यकर्तासँग बसेर राजनीति र क्रान्तिबारे बहस गर्ने नेतृत्वले अहिले त्यस्ता कार्यकर्तालाई फरक रूपमा हेर्नु विरोधाभासपूर्ण भएको उनको भनाइ छ । त्यस्तै, पार्टीमा नेतृत्व परिवर्तन र हस्तान्तरणको माग गर्ने कार्यकर्तालाई ‘अराजक’ भन्नु कुन मार्क्सवादी सिद्धान्तमा आधारित हो भन्दै उनले प्रश्न गरेका छन् । आफूले विगतमा नेतृत्व परिवर्तनको माग गर्दै संघर्ष गरेको प्रसंग उल्लेख गर्दै अहिले उही माग गर्नेहरूलाई अराजक भन्नु दोहोरो मापदण्ड भएको रावलले बताएका छन् । पार्टी सुधार र रूपान्तरणको माग गर्नेहरूलाई ‘पार्टी छोडेर जाऊ’ भन्नु उचित नभएको पनि उनले बताएका छन् । एमाले कुनै व्यक्तिको निजी संस्था नभई हजारौँ सहिदको बलिदान र लाखौँ कार्यकर्ताको योगदानबाट बनेको साझा घर भएको रावलको भनाइ छ । रावलले नेताहरूको अवसर र जिम्मेवारीबारे पनि आत्मसमीक्षाको आवश्यकता औँल्याएका छन् । अरू नेताले पटक-पटक अवसर पाएको भन्दै आलोचना गर्ने तर नेतृत्वका आफ्नै हकमा त्यस्तो मापदण्ड लागू नहुने अवस्था हुनु कति उचित हो भन्दै उनले प्रश्न गरेका छन् । उनले आफूले उठाएका प्रश्न व्यक्तिगत आक्रोश वा पूर्वाग्रह नभई पार्टीलाई सही दिशामा अघि बढाउने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने र वैचारिक बहसलाई जीवित राख्ने उद्देश्यले राखिएको बताएका छन् ।
१३- चितवनको राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट स्थानीय ६० वर्षीय ठाकुर अधिकारी घाइते भएका छन् । आइतबार बिहान करिब ६: ४० बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको हो । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ । बाघले सोही स्थानकी दिला कुमारी तामाङको गोठमा बाँधिएको गाईलाई समेत आक्रमण गरी सामान्य घाइते बनाएको छ । बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित खटिएको टोलीले खोजी गर्ने क्रममा बिहान करिब साढे ११ बजे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
१४- जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबीचको एकतापछि जनता समाजवादी पार्टी, नेपालले नयाँ केन्द्रीय समिति गठन गरेको छ । पार्टी विधानको धारा ८७ को उपधारा २ अनुसार गठन गरिएको समितिमा महन्थ ठाकुरलाई संरक्षक र उपेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टी विधानको धारा १३० अनुसार वरीयताक्रम पछि निर्धारण गरिने भएकाले हाल केन्द्रीय सदस्यहरूको नाम वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको पार्टीले जनाएको छ । नयाँ केन्द्रिय समिति २७९ सदस्यीय बनाएको छ जसमा ३३ जना पदाधिकारी रहेका छन् । नयाँ केन्द्रीय समितिमा शरत सिंह भण्डारी सहअध्यक्ष र रकम चेम्जोङ वरिष्ठ नेता छन् । उपाध्यक्षमा उमाकान्त झा, गोविन्द चौधरी, जितेन्द्र प्रसाद सोनल, निर्जला शर्मा, परमेश्वर साह, राजकिशोर यादव र रेणु कुमारी यादव छन् । महासचिवमा प्रकाश अधिकारी, लालबाबु मण्डल र डा. सुरेन्द्र कुमार झा चयन भएका छन् भने उपमहासचिवमा जयनुल राइन, दिपक कार्की, रामप्रकाश चौधरी, रानी कुमारी तिवारी, राजकुमार राई, रेखा यादव र लिला देवी गहतराज छन् । त्यस्तै सचिवमा अर्जुन थापा, उमेश यादव, अनिल कुमार सिंह, उपेन्द्र महतो, कमरुद्दीन राई, गिता चौधरी, रामप्रवेश बैठा, लक्पा शेर्पा, शैलेन्द्र प्रसाद साह, सुनि लामा र सुरेश मण्डल चयन भएका छन् । त्यसैगरी, सुनिता कुमारी साहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । पार्टीले समायोजनपछि नयाँ संरचनालाई औपचारिक रूपमा अघि बढाउँदै केन्द्रीय समितिको नामावली सार्वजनिक गरेको बताएको छ ।
१५- बंगलादेशले अस्ट्रेलियालाई डर्विनमा भएको पहिलो टेस्टमा नौ विकेटले पराजित गर्दै अस्ट्रेलियाको भूमिमा पहिलो टेस्ट जित हात पारेको छ । अस्ट्रेलियामा बंगलादेशको यो तेस्रो प्रयासमा पहिलो जित हो । यसअघि नौ वर्षअघि घरेलु मैदानमा पनि बंगलादेशले अस्ट्रेलियालाई टेस्टमा हराएको थियो । अस्ट्रेलियाले दोस्रो इनिङमा २८४ रनमा सबै विकेट गुमाएपछि बंगलादेशले जितका लागि ५७ रनको लक्ष्य पाएको थियो । जसलाई एक विकेट गुमाएर हासिल गरेको थियो । बंगलादेशको जितमा हसन महमुदले दुवै इनिङमा गरी नौ विकेट लिए । उनले पहिलो इनिङमा ६ विकेट लिँदै अस्ट्रेलियालाई १९८ रनमै समेटेका थिए । तान्जिद हसनले आफ्नो दोस्रो टेस्टमै पहिलो शतक बनाए भने कप्तान नजमुल हुसेन शान्तोले ८४ रन बनाए । बंगलादेशले पहिलो इनिङमा ४२६ रन बनाएर अस्ट्रेलियामाथि २२८ रनको ठूलो अग्रता लिएको थियो । मेहदी हसन मिराजले पुच्छरका ब्याटरहरूसँग ५२.३ ओभरसम्म ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले दोस्रो इनिङमा पाँच विकेटसमेत लिए । अस्ट्रेलियाका लागि क्यामरन ग्रिनले १०४ रन बनाए पनि उनलाई पर्याप्त साथ मिलेन । हसन महमुदले ग्रिनलाई आउट गरेपछि मेहदी हसनले नाथन लायनलाई आउट गर्दै अस्ट्रेलियाको इनिङ समाप्त गरे । अस्ट्रेलियाले दुवै इनिङमा ३०० रनभन्दा कममै सबै विकेट गुमाएको थियो । यो जित बंगलादेशका लागि निकै महत्वपूर्ण बनेको छ । एक साताअघि मात्र अस्ट्रेलिया एकादशविरुद्धको अभ्यास खेलमा ५४ रनमै अलआउट भएको बंगलादेशले त्यही अस्ट्रेलियाको विश्वकै शीर्ष टोलीलाई शानदार रूपमा पराजित गरेको हो । टोलीले मार्च यता लगातार राम्रो प्रदर्शन गर्दै आएको थियो । गत वर्ष राजनीतिक कारणले टी-२० विश्वकप गुमाएको बंगलादेशका लागि यो जित विशेष उपलब्धि बनेको छ । अब सिरिजको दोस्रो टेस्ट अगस्त २२ देखि शुरु हुने छ ।
१६- इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि आएका पटक-पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विगतमा विनाशकारी भूकम्पको पीडा भोगेकाले यस्ता प्राकृतिक विपत्तिबाट हुने दुःख र क्षतिलाई गहिरोसँग बुझेको जनाएको छ । मन्त्रालयले यस कठिन घडीमा इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ । नेपाल सरकार र नेपाली जनताले भूकम्पमा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहत सुनिश्चित होस् र उनीहरूको यथाशीघ्र पुनःस्थापना होस् भन्ने कामना मन्त्रालयले गरेको छ । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मुल्य तोलाको ३६ सयले बढेर तोलाको ३ लाख ५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर तोलाको ४७१० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६६० मा कारोबार भएको थियो ।
१८- लियोनल मेसीले लगातार तेस्रो पेनाल्टीमा गोल गर्न असफल हुँदा इन्टर मियामी न्यासभिलसँग ४-१ गोल अन्तरले पराजित भएको छ । शनिबार विहानको हारसँगै मियामी लगातार तेस्रो खेलमा पराजित भएको हो । खेलको २३औँ मिनेटमा मेसीले पेनाल्टीमार्फत खेल बराबरी गर्ने अवसर पाए पनि न्यासभिलका गोलरक्षक ब्रायन स्वाकेले बचाएका थिए । रिबाउन्डमा सर्जियो रेगिलोनले गोल गरे पनि भिडियो समीक्षा पछि गोल मान्य भएन । सन् २०१४ पछि पहिलोपटक मेसी लगातार तीन पेनाल्टीमा गोल गर्न असफल भएका हुन् । यसअघि उनले यसै गर्मीयामको विश्वकपमा अस्ट्रिया र नकआउट चरणमा इजिप्टविरुद्ध पेनाल्टी गुमाएका थिए । न्यासभिलका एन्डी नाहारले १७औँ मिनेटमा गोल गरेपछि मियामीका लागि तेलास्को सेगोभियाले पहिलो हाफको अतिरिक्त समयमा बराबरी गोल गरेका थिए । तर दोस्रो हाफमा हानी मुख्तारले दुई तथा साम सर्जिजले एक गोल थपेपछि न्यासभिल ४-१ ले विजयी भयो । हारसँगै मियामी एमएलएसको पूर्वी क्षेत्रको शीर्ष स्थानमा पुग्ने अवसरबाट चुकेको छ । जितपछि न्यासभिलले मियामीमाथि पाँच अंकको अग्रता बनाएको छ । मियामीले अब बुधबार फिलाडेल्फिया युनियनसँग खेल्ने तालिका छ ।
१९- पोखराको साहित्य, कला, सङ्गीत, संस्कृति तथा पर्यटकीय गतिविधिलाई एउटै स्थानबाट संरक्षण, विकास र प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले निर्माण गरेको बहुउद्देश्यीय ‘पोखरा घर’ सञ्चालनमा आएको छ । पोखरा–९ पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’मा भूमिगत पार्किङ, कोसेली घर, एकीकृत सूचना केन्द्र, पोखरा सार्वजनिक पुस्तकालय, पोखरा प्रज्ञा प्रतिष्ठान, कला प्रदर्शनी कक्ष, टिकट कक्ष, स्नान गृह, शौचालय र घण्टाघरलगायतका संरचना तथा सेवा राखिएका छन् । उद्घाटनका क्रममा नगर प्रमुख आचार्यले पोखरा सार्वजनिक पुस्तकालयलाई विभिन्न विधा तथा विषयका १४५ थान पुस्तक हस्तान्तरण गरेका थिए । लामो समयदेखि अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको पुस्तकालयले अब ‘पोखरा घर’बाट सेवा सुरु गरेको छ । पुस्तकालय सञ्चालनका लागि महानगरपालिकाले भवनसँगै फर्निचर तथा आवश्यक सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । कला, साहित्य, संस्कृति र ज्ञानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको ‘पोखरा घर’मा पुस्तकालयसँगै कला प्रदर्शनी कक्ष, पोखरा प्रज्ञा प्रतिष्ठान, एकीकृत सूचना केन्द्र र कोसेली घरलगायतका संरचना सञ्चालनमा आएका छन् । महानगरपालिकाले ‘पोखरा घर’लाई व्यवस्थित सहरको परिचायकका रूपमा विकास गर्दै प्राज्ञिक तथा सिर्जनात्मक गतिविधिलाई थप प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ । नगर प्रमुख आचार्यले व्यवस्थित सहरका लागि आवश्यक पुस्तकालय, कला प्रदर्शनी कक्ष, सूचना केन्द्र, स्नान गृहलगायतका आधारभूत पूर्वाधारलाई ‘पोखरा घर’मार्फत एकीकृत गरिएको बताए । पोखराको कला, साहित्य, सिर्जना तथा संस्कृतिको विकास, संरक्षण र प्रवर्द्धनमा ‘पोखरा घर’ले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । व्यवस्थित सहर निर्माणसँगै ज्ञान, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यस्ता संरचनाको विकास गरिएको आचार्यले बताए । ‘पोखरा घर’लाई प्रभावकारी रूपमा सञ्चालन गर्दै यसको संरक्षण र प्रवर्द्धनमार्फत पोखराको सांस्कृतिक तथा प्राज्ञिक पहिचानलाई थप सुदृढ बनाउन महानगरपालिका प्रतिबद्ध रहेको उनले जानकारी दिए । कार्यक्रममा महानगरका जन्प्रतिनिधियो, कर्मचारी, विभिन्न सरोकारवाला सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, जग्गादाता तथा अन्य सरोकारवालाको पनि सहभागिता रहेको थियो ।
२०- इरानको सशस्त्र बलको प्रधान कार्यालयअन्तर्गत बेपत्ता व्यक्तिको खोजीसम्बन्धी समितिका प्रमुखले तीन जना इरानी पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेका छन् । उनले ती पाइलटको अवस्थाबारे स्पष्ट जानकारी गराउन अन्तर्राष्ट्रिय रेडक्रस समितिसँग सहयोगको आग्रह गरेका छन् । इरानी सञ्चारमाध्यमका अनुसार समितिका प्रमुख ब्रिगेडियर जनरल मोहम्मद बाकेरजादेहले अन्तर्राष्ट्रिय रेडक्रस समितिकी अध्यक्ष मेरियाना स्पोल्यारिकलाई पठाएको पत्रमा मार्च २, २०२६ मा दुई वटा सुखोई–२४ लडाकु विमान कतारमा रहेको भनिएको ‘शत्रु सैन्य अड्डा’लाई लक्षित गरी पठाइएको उल्लेख गरेका छन् । उनका अनुसार सैन्य अभियान पूरा गरेर फर्कने क्रममा ती विमानले शत्रुपक्षको कारबाही सामना गरेका थिए। त्यस क्रममा चार जना इरानी पाइलट प्रभावित भएका थिए । ती चारमध्ये माजिद काजेमीको शव पछि इरान ल्याइएको र अगस्ट २९ मा सिराजमा अन्त्येष्टि गरिएको इरानी पक्षले जनाएको छ । बाँकी तीन पाइलट जवाद सालेही, अब्दुलमजीद दस्तियान र इमरान बहरूशियानलाई कतारको सेनाले जीवितै नियन्त्रणमा लिएको बाकेरजादेहले दाबी गरेका छन् । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले इरानको उक्त दाबी अस्वीकार गरेका छन् । उनले क्षेत्रीय तनाव कम गर्न कूटनीतिक प्रयास जारी रहेका बेला ‘यस्ता भ्रामक भनाइ’ सार्वजनिक भएकोमा आफूहरू निकै आश्चर्यमा परेको बताए । अल अन्सारीले जारी गरेको वक्तव्यमा मार्चमा कतारको हवाई क्षेत्र उल्लङ्घन भएपछि कतारले इरानी पाइलटसँग सम्पर्क गरेको र उनीहरूको उडान मार्ग पुष्टि गरेको बताए । उनका अनुसार पाइलटबाट कुनै जवाफ नआएपछि कतारले ‘संघर्षका नियम तथा अन्तर्राष्ट्रिय कानुनको आवश्यकताअनुसार’ आफ्नो सुरक्षाका लागि कारबाही गरेको थियो । कतारका खोज तथा उद्धार टोलीले ती पाइलटको खोजीका लागि अभियान सञ्चालन गरेको पनि उनले जानकारी दिए । उनका अनुसार खोजीका क्रममा एक जना पाइलटको शव फेला परेको थियो । उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्कसमेत गरेको उनले बताए ।




