
काठमाडौं, १ भदौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्य पूर्व मामिला हेर्ने विशेष दूत जारेड कुशनरले अमेरिका समर्थित गाजा शान्ति योजनाको कार्यान्वयनबारे छलफल गर्न हमाससँग दुर्लभ वार्ता गरेका छन्।
एक प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार ट्रम्पका ज्वाइँले आइतबार इजिप्टमा हमासका नयाँ नेता खलिल अल हैयाको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका हुन ।

गत महिना ट्रम्पको ‘बोर्ड अफ पिस’ अर्थात शान्ति मण्डलले गाजामा हमास र अन्य सशस्त्र समूहहरूको ‘पूर्ण निशस्त्रीकरण’ का लागि सहमति जुटेको बताएको थियो।


गत साता, इजरायलले ट्रम्पको १५ बुँदे योजनालाई अस्वीकार गर्यो । उक्त योजनामा इजरायली सेनाको फिर्ती र नयाँ नागरिक प्यालेस्टिनी प्रशासनअन्तर्गत गाजाको पुनर्निर्माणको प्रस्ताव गरिएको थियो। इजरायलको उक्त अस्वीकृतिको निन्दा गर्दै आइतबार आठ मुस्लिम राष्ट्रहरूले एक विज्ञप्ति जारी गरेका थिए ।
ट्रम्पले ‘बोर्ड अफ पिस’को नेतृत्व गर्छन्, जुन सुरुमा गाजामा शान्ति स्थापना गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय संस्थाका रूपमा गठन गरिएको थियो तर पछि यसको दायरा बढाएर विश्वभरका द्वन्द्वहरूलाई समेत समेटिएको थियो।

गाजा क्षेत्रमा युद्धविराम सम्बन्धी गत वर्षको सम्झौता पछि यस स्तरमा भएको कुशनर र हैयाबीचको यो पहिलो भेटवार्ता मानिएको छ।
समाचारहरूका अनुसार शान्ति प्रयासहरूमा मध्यस्थता गर्दै आएका इजिप्ट, कतार र टर्कीका प्रतिनिधिहरूसँगै ‘बोर्ड अफ पिस’ का दूत निकोलाइ म्लादेनोभ र बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयर पनि उक्त बैठकमा सहभागी थिए।

हमासका हतियारहरू हटाउने ठोस कदमका साथै इजरायली सेनाको फिर्ती र मानवीय प्रयासहरूमा केन्द्रित रहेको भनिएको यस वार्ताका सम्बन्धमा कुनै आधिकारिक विज्ञप्ति भने जारी गरिएको छैन।




