
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लाल आयोगको प्रतिवेदन थप विलम्ब नगरी सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।
उनले २०७४ सालदेखि हरेक वर्ष प्रतिवेदन सार्वजनिक गर्नुपर्ने आवाज उठ्दै आए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको बताउदै ब थप विलम्ब नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई आग्रह गरेका हुन् ।

थापाले राजनीतिक दलहरूले सरकारमा जानुअघि प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै आए पनि सरकारमा पुगेपछि त्यसलाई कार्यान्वयन गर्न नसकेको बताएका छन् । २०७३ सालमा गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन सार्वजनिक नहुँदा घटनाको सत्यतथ्य बाहिर आउन नसकेको उनको भनाइ छ ।


प्रतिवेदन सार्वजनिक नहुँदा पीडितहरू न्याय पाउनबाट वञ्चित भएको उल्लेख गर्दै थापाले विगतका सरकारको कमजोरीलाई अहिले पनि प्रतिवेदन सार्वजनिक नगर्ने कारण बनाउन नहुने बताएका छन् । यसपटक विषय प्रतिबद्धतामा मात्र सीमित हुन नहुने उनको भनाइ छ ।
थापाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अब थप ढिलाइ नगरी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दै नागरिकलाई सत्य जान्ने र पीडितलाई न्याय पाउने अधिकार रहेको बताएका छन् ।





