फुटबलका दुई महारथी इङल्यान्ड र फ्रान्स १-१ को बराबरीमा

डोनेस्क, जेठ ३० (एजेन्सी)- इङलिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका स्टारहरु नायक बन्दा सोमबार इङल्यान्ड र फ्रान्सले बराबरी नतिजा निकाल्दै युरो २०१२ को सुरुवात गरेका छन्। सोमबार डोनेस्कमा सम्पन्न समुह डी को पहिलो खेलमा युरोपेली फुटबलका दुई महारथीले १-१ को बराबरी खेलेका थिए।

 


कप्तान स्टेफन जेरार्डको फ्रि-किकलाई म्यानचेस्टर सिटीका रक्षक जुलियन लेस्कटले हेडमार्फतगोलमा परिणत गर्दै इङल्यान्डलाई ३० औं मिनेटमा अग्रता दिलाएका थिए। राष्ट्रिय टोलीका लागि लेस्कटले गरेको यो पहिलो गोल थियो।

यसरी भएको थियो पहिलो गोल।

तुलनात्मक रुपमा खेलमा नियन्त्रण राखेको फ्रान्सले ९ मिनेट नबित्दै खेललाई बराबरीमा ल्याएको थियो। समिर नासरीले पेनाल्टी बक्स बाहिरबाट कुना च्याप्दै गरेको कडा प्रहार बचाउन इङल्यान्डका गोलकिपर जोइ हार्ट असफल हुँदा फ्रान्सले पहिलो हाफमै खेल बराबरीमा ल्याएको थियो।

गोल गरिसकेपछि नासरी।
म्यानचेस्टर सिटीका स्टार नासरीले गोल गरेपछि लाउरेन्ट ब्लांकको टोली २१ खेलको अपराजित यात्रा कायम राख्न सफल भयो। फ्रान्सले खेलमा बल पोजेजनका साथै आक्रमणमा नियन्त्रण राखेपनि विपक्षी रक्षापंक्तिले उत्कृष्ट प्रदर्शन गरेपछि टोली निराश हुनुपरेको थियो।

तीन हप्ता अघि नेतृत्व सम्हालेका रोय हडसनको इङ्ल्यान्डको प्रशिक्षकको रुपमा यो पहिलो प्रतियोगितात्मक खेल थियो ।

खेल बराबरीमा सकिएपछि दुई टिमका कोच। तस्बिरहरुः एपी