भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १८औँ नाडा अटो शो आजदेखि सुरू भएको छ ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको आयोजनामा मंगलबारदेखि सुरू भएको प्रदर्शनीको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गरेका हुन् ।

यसपटक प्रदर्शनीस्थललाई ह्विलचेयरमैत्री बनाउनुका साथै पर्याप्त बत्ती,एसी तथा पंखाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।  भदौ १४ गतेसम्म जारी रहने प्रदर्शनी स्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियन र इन्टरनेसनल बिजनेस प्याभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।

अवलोकनकर्ताले सवारीसाधनसँगै वित्त, बीमा, सर्भिस र पार्ट्ससम्बन्धी जानकारी एकै ठाउँबाट लिन सक्ने व्यवस्था मिलाइएको छ । यसले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई मूल्य, खर्च तथा सुविधाबारे तुलनात्मक रूपमा जानकारी लिन सहज हुने आयोजकको अपेक्षा छ ।

आयोजकले प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० पार्ट्स तथा सेवा कम्पनी र करिब ११ बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको जानकारी दिएको छ ।