पोर्चुगलद्धारा डेनमार्कलाई ३-२ को नतिजामा हराएर प्रतियोगितामा आशा कायम

लिभ  (एजेन्सी)- पोर्चुगलले युरोपियन च्याम्पियनसिपको क्वार्टर फाइनल पुग्ने सम्भावना जीवित राख्दा डेनमार्कको प्रतियोगिता यात्रा संकटमा परेको छ। पहिलो खेलमा उपाधिकै दावेदार जर्मनीसंग १-० ले पराजित पोर्चुगलले बुधबार डेनमार्कलाई ३-२ को नतिजामा हराएर प्रतियोगितामा आशा कायम राख्यो।
पोर्चुगलको पहिलो गोल। 

फिलिप जोआओको कर्नरमा क्लेपर पेपेले हेड गोल गर्दै २५ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलमा पोर्चुगलले मध्यान्तर हुन ९ मिनेट बाँकी रहदा अर्को गोल गर्‍यो।

पोर्चुगलको दोस्रो गोल। 

हेल्डर पोस्टिगाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै ३६ औं मिनेटमा पोर्चुगलको अग्रता दोव्वर पारे। रियाल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो एउटै गोल गर्न असफल भएको खेलमा डेनमार्कका निकलस बेन्ड्टनरले दुई गोल गरेर अन्तिम समयसम्म टोलीको आशा कायम राखेका थिए।

मध्यान्तर हुन ४ मिनेट बाँकी रहदा बेन्ड्टनरले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै डेनमार्कको खेलमा फर्कने सम्भावना जीवित पारे। उनैले समय सकिन १० मिनेट बाँकी रहदा गोल गरेर खेल बराबरीमा ल्याएका थिए।

तर जितको लागि प्रतिवद्ध भएर मैदान उत्रिएको स्टार खेलाडीले भरिपुर्ण पोर्चुगलका लागि समय सकिन तीन मिनेट बाँकी रहदा सिल्भरस्ट्रे भालेराले पेनाल्टी बक्स भित्रबाट उत्कृष्ट सर्टमा गोल गरेर पोर्चुगलको भागमा तीन अंक पक्का गरे।

पोर्चुगलका लागि विजयी गोल गरेका भालेरा। 
पहिलो खेलमा नेदरल्यान्डसमाथि १-० को विजय हासिल गरेको डेनमार्क बुधबार पोर्चुगललाई हराउन सकेको भए युरो २०१२ को क्वार्टर फाइनल पुग्ने पहिलो टोली बन्ने थियो।

खेलमा पूरा नियन्त्रण विपक्षीले राखेपनि पोर्चुगलले गोलका अरु थुप्रै अवसर सिर्जना गरेपनि रोनाल्डोसहित रामिरेस, नानीलगायतका स्टार मौका उपयोगबाट चुके। दोस्रो हाफमा भने डेनमार्क तुलनात्मक रुपले खेलमा हावी रहेको थियो। पहिलो हाफमा बल पोजेसन आफ्नो पक्षमा पारेको पोर्चुगलले त्यहीअनुसार गोल गर्न सफल भयो। पूरा खेलमा बल पोजेसन डेनमार्कले ५८ प्रतिसत पक्षमा पार्दा पोर्चुगल ४२ प्रतिसतमा सिमित भएको थियो।

पोर्चुगलका लागि सुपरस्टार रोनाल्डो समय सकिन १३ मिनेट बाँकी रहदा खाली पोष्टमा गोल गर्नबाट चुके। नानीको थु्र पासमा वान भर्सेज वानको अवस्थामा रोनाल्डोको प्रहार पोष्टभन्दा बाहिरबाट गएको थियो। यसअघि पनि रोनाल्डो यस्तै उत्कृष्ट मौकालाई उपयोग गर्नबाट चुकेका थिए । (तस्बिरहरुः एपी)