पाकिस्तानी गजल मेस्ट्रो मेहदी हसनको ८४ वर्षको उमेरमा कराँचिमा निधन


काठमाडौं – पाकिस्तानी गजल मेस्ट्रो मेहदी हसनको बुधबार ८४ वर्षको उमेरमा कराँचिमा निधन भएको छ। सास फेर्न समस्या भएपछि हसनलाई स्थानीय आगा खाँ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो। १२ वर्षदेखि फोक्सो, छाती र पिसाबको रोगले उनी थला परेका थिए।


नेपालप्रति अत्यन्त स्नेह राख्ने कलाकारका रूपमा चिनिन्थे हसन। उनी तीन पटक नेपालमा आएका थिए। २०४० सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा एकल कन्सर्ट दिँदै उनले दुइटा नेपाली गीत गाएर स्रोतालाई आश्चर्यमा पारेका थिए। उनले गाएका दुई गीतमा एउटा नारायण गोपालको ‘आँखा छोपी नरोऊ भनी’ र अर्को संगीतकार दीपक जंगमको ‘भन लौ तिमी नढाँटी’ थियो।

 



मवीवि शाहको रचनामा दीपकले कम्पोज गरेको गीत स्टुडियोम रेकर्ड हुन भने पाएन। हसनसँग आत्मीय सम्बन्ध बनाएका दीपकले भने, ‘कोठामा सीमित गजल गायनलाई पब्लिक र अन्तर्राष्ट्रिय बजारमा फैलाउने श्रेय उहाँलाई नै जान्छ।’


पाकिस्तानमा स्टेज कार्यक्रमहरुमा गाउन जाँदा उनको हसनसँग चिनजान भएको थियो। त्यही परिचयको आधारमा २०४५ सालतिर कराँचिमै दीपकको कम्पोजमा हसनले ६ वटा उर्दू गजल रेकर्ड गरेका थिए। ती गीत रेडियो नेपाल र रेडियो पाकिस्तानमा बज्ने गर्छ।


दीपकका अनुसार हसनले पटकपटक आफ्नो रिटायर्ड जीवन नेपालमै बिताउने इच्छा व्यक्त गरेका थिए। हसनसँग ६-७ वर्षअघिसम्म पनि आफ्नो नियमित फोन सम्पर्क हुने गरेको दीपक बताउँछन्।


सन् १९२७ मा भारतको राजस्थानस्थित लुनाको सांगीतिक परिवारमा जन्मिएका हसन भारत-पाक विभाजनपछि २० वर्षको उमेरमा परिवारसहित पाकिस्तानतिर लागेका थिए। पाकिस्तानमा उनको परिवारले ठूलो आर्थिक अभाव झेल्नुपर्‍यो। सन् १९५७ मा रेडियो पाकिस्तानमा गीत गाउने अवसर पाउनुअघि हसनले पेट पाल्नलाई साइकल पसलमा समेत काम गरेका थिए।


‘गजल सम्राट’को उपमाले चिनिने हसनलाई पाकिस्तानका प्रतिष्ठित सम्मानहरु र २०४० सालमा नेपालको गोरखा दक्षिण बाहु प्रथम प्रदान गरिएको थियो। नेपालमा उक्त पदक पाउने उनी प्रथम विदेशी कलाकार थिए। ‘अब के बिछडे’, ‘मै होश मे था तो फिर’ र ‘जिन्दगी मे तो सभी’ जस्ता कालजयी गीत गाएका हसनले अस्वस्थताका कारण अस्सीको दशकको अन्त्यतिर गाउन छाडेका थिए। उनले गाएको ‘तु मेरी जिन्दगी है’ गीतलाई संगीतकार नदिम श्रवणले ‘आशिकी’ फिल्ममा हुबहु नक्कल गरेका थिए।


सन् २००० मा भारतमा अन्तिम कन्सर्ट दिएका हसन गायिका लता मंगेशकर, अभिनेता दिलिप कुमार र अमिताभ बच्चनलाई भेट्न चाहन्थे। तर, त्यो चाहना पूरा भएन। प्रत्यक्ष भेट्न नपाए पनि उनले लतासँग गाएको एकमात्र युगल गीत ‘तेरा मिलना’ सन् २०१० मा एचएमभीले रिलिज गरेको ‘सरहदें’ एल्बममा समावेश छ। सन् २००९ मा हसनले आफ्नो कम्पोजमा पाकिस्तानमै गीत रेकर्ड गरी बाँकी ट्रयाक भारत पठाइएका थिए। उक्त ट्रयाक सुनेर लताले सन् २०१० मा भारतमै आफ्नो भागको शब्द गाएकी थिइन्। – नागरिक