आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज राति कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह , मौसम पूर्वानुमान महाशाखाद्वारा चेतावनी नक्सा जारी, हिमाली तथा पहाडी भूभागमा विशेष सावधानी अपनाउन अनुरोध

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले बुधबार राति देशका विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोसी र मधेस प्रदेशका तराईका थोरै स्थानमा समेत आज राति मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग एवं लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

महाशाखाले आज रातिका लागि मौसम चेतावनी नक्सासमेत जारी गरेको छ। नक्सामा सुन्तला रङले देखाइएका क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा पहेँलो रङले देखाइएका क्षेत्रका नागरिकलाई पछिल्लो मौसमसम्बन्धी जानकारीसँग अद्यावधिक रहन आग्रह गरिएको छ।
वर्षाको मात्रा कसरी बुझ्ने ?

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम र ५० देखि १०० मिलिमिटरसम्म भारी वर्षा भएको मानिन्छ।

त्यस्तै, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी तथा २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।

‘एक–दुई स्थान’देखि ‘अधिकांश स्थान’ भन्नाले के बुझिन्छ ?

मौसमविद्का अनुसार १० प्रतिशतभन्दा कम भूभागमा वर्षा हुने सम्भावनालाई ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतसम्मलाई ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतसम्मलाई ‘केही स्थान’ र ५० देखि ८० प्रतिशतसम्मलाई ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना भनिन्छ।

त्यस्तै, ८० प्रतिशतभन्दा बढी भूभागमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’मा वर्षा हुने भनिन्छ।

images

अर्घाखाँची डटकम | Arghakhanchi.com

images

तस्बिर : मौसम पूर्वानुमान महाशाखाको चेतावनी नक्सा

images

#मौसमपूर्वानुमान #भारीवर्षा #मौसमचेतावनी #वर्षा #कोसी #बागमती #गण्डकी #लुम्बिनी #ArghakhanchiCom #ArghakhanchiComHD