
गुल्मी। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले एक विशेष कार्यक्रमका बीच बिमित दिपेन्द्र थारुलाई सन मेडिकेयर सुविधा अन्तर्गत ‘ उपचार खर्च बापत दावी रकम रु ७०००० प्रदान गरेको छ।
रुपन्देही निवासी थारु विगत लामो समयदेखि रोजगारीको सिलसिलामा गुल्मीको इस्मा गाउँपालिका–२, छल्दीमा अस्थायी रूपमा बसोबास गर्दै आउनुभएको छ। कार्यस्थलमा काम गर्ने क्रममा अचानक काठ खुट्टामा बजारिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको थियो। त्यसपछि अस्पतालमा भर्ना भई चार दिनसम्म उपचार तथा शल्यक्रिया गराउनुभएका थारुलाई कम्पनीको नियमानुसार ‘आपतमा राहत’ सुविधाअन्तर्गत विमा दावी रकम प्रदान गरिएको हो।

शाखा प्रमुख नविन अर्यालका अनुसार सन नेपाल लाइफको ‘आपतमा राहत सुविधा’ अन्तर्गत न्यूनतम वार्षिक रु. १,३९३ मा विभिन्न आकस्मिक स्वास्थ्य समस्याको उपचारका लागि वार्षिक रु. १ लाखसम्मको उपचार सुविधा प्राप्त गर्न सकिने व्यवस्था रहेको छ।


उहाँका अनुसार यस सुविधाअन्तर्गत सडक, घर वा कार्यस्थलमा हुने दुर्घटना, एपेन्डिसाइटिस, प्यान्क्रियाटाइटिस, हृदयाघात, मस्तिष्कघात, विद्युतीय तथा अन्य जलन, डुबान, खाद्य विषाक्तता वा विषादीबाट हुने संक्रमण, आन्द्रामा रगत बग्ने, कीरा वा सर्पको टोकाइ, तापघात, मस्तिष्कमा चोट, गर्भाशयबाहिरको गर्भ, मानसिक स्वास्थ्य संकट तथा घाउमा संक्रमण जस्ता १५ प्रकारका स्वास्थ्य समस्यामा उपचार सुविधा उपलब्ध हुने बताउनुभयो।
अर्यालले विमा दुखको साहरा रहेको र हरेक नागरिकमा बीमाको चेतना विस्तार गर्न सकेमा यस्ता आकस्मिक घटना तथा भवितव्यका समयमा आर्थिक राहत प्राप्त हुने बताउनुभयो। यसबाट पीडित व्यक्ति तथा राज्य दुवैमाथि पर्ने आर्थिक भारसमेत कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

वीमा दावी रकम इस्मा गाउँपालिका–२ को वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष लोकनाथ आचार्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाको प्रशंसा गर्नुभयो।


उहाँले भन्नुभयो, “सामान्य दुर्घटना वा स्वास्थ्य समस्या पर्दासमेत नागरिकले यसरी उपचार खर्चका लागि राहत पाउनु निकै सकारात्मक कुरा हो। नागरिकहरू बीमामा आबद्ध हुँदा यस्ता विपतका समयमा ठूलो आर्थिक राहत मिल्छ।”
स्थानीय अभिभावकको नाताले कम्पनीप्रति धन्यवाद ज्ञापन गर्दै वडा अध्यक्ष आचार्यले सबै नागरिकलाई बीमामा आबद्ध हुन आग्रहसमेत गर्नुभयो।
उक्त कार्यक्रममा जनप्रतिनिधि, वडा कर्मचारी, स्थानीयवासी, सन नेपाल लाइफका अभिकर्ता, एजेन्सी म्यानेजर तथा कर्मचारीहरूको उपस्थिति रहेको कम्पनीका गुल्मी शाखाका C.E .E सरोज सिं सनारीले जानकारी दिनुभयो।




