सन्धिखर्क चुत्राबेसीमा सहकारीबाट सञ्चालित एक डेरीको दूधमा गम्भीर प्रश्न, तताउँदा चुइगमजस्तो हुने गुनासो , दूध तताउँदा चिप्लो र तन्किने, रङ तथा गन्धमा समेत परिवर्तन आएको उपभोक्ताको दाबी; तत्काल नमुना परीक्षण र अनुगमन गर्न माग
अर्घाखाँची । सन्धिखर्क नगरपालिका– २ चुत्राबेसी क्षेत्रमा सहकारीबाट सञ्चालन हुँदै आएको एक डेरीबाट बिक्री–वितरण भइरहेको दूधको गुणस्तरबारे उपभोक्ताले गम्भीर गुनासो गरेका छन्। नियमित रूपमा उक्त डेरीको दूध प्रयोग गर्दै आएका उपभोक्ताका अनुसार पछिल्लो समय दूध तताउँदा चुइगमजस्तो चिप्लो तथा तन्किने, खोटो बन्ने, पहेँलो रङमा परिवर्तन हुने र असामान्य गन्ध आउने समस्या देखिएको छ।
उपभोक्ताका अनुसार दूध ट्याङ्कबाट निकालेर तताउँदा सामान्य दूधजस्तो नदेखिने, चुइगमजस्तो तन्किने तथा तताउने क्रममा नराम्रो गन्ध आउने गरेको छ। कतिपय अवस्थामा दूध तताएर राख्दा समेत यसको स्वरूपमा अस्वाभाविक परिवर्तन देखिएको उनीहरूको भनाइ छ।

सन्धिखर्क चुत्राबेसीमा डेरीको दूधमाथि गम्भीर प्रश्न : तताउँदा चुइगमझैँ तन्किने र चिप्लो हुने गुनासो, तत्काल परीक्षणको माग, उपभोक्ताको दाबी–दूधको रङ, गन्ध र बनावटसमेत अस्वाभाविक; सम्बन्धित निकायसँग तत्काल नमुना परीक्षण र कडा अनुगमन गर्न आग्रह।
यस्तो समस्या पटक–पटक देखिएपछि आफूहरूले सम्बन्धित निकायलाई जानकारी गराउँदै आएको भए पनि प्रभावकारी रूपमा नमुना संकलन गरी परीक्षण तथा अनुगमन नभएको उपभोक्ताको गुनासो छ।
दैनिक रूपमा बालबालिकादेखि वृद्धवृद्धासम्मले उपभोग गर्ने दूधको गुणस्तरमा प्रश्न उठेपछि यसलाई सामान्य रूपमा नलिई तत्काल वैज्ञानिक परीक्षणमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने उपभोक्ताहरूको माग छ।
‘दूधमा के समस्या हो ? परीक्षण गरेर देखाइयोस्’
उपभोक्ताले दूधमा कुनै अखाद्य पदार्थ मिसाइएको हो वा उत्पादन, सङ्कलन, प्रशोधन, चिस्यान, भण्डारण तथा ढुवानीका क्रममा समस्या आएको हो भन्ने विषय तत्काल परीक्षणबाट स्पष्ट गर्न माग गरेका छन्।
दूध तताउँदा चिप्लो हुनु, गन्ध आउनु वा रङ परिवर्तन हुनु मात्रैका आधारमा दूधमा मिसावट भएको निष्कर्ष निकाल्न भने नमिल्ने भएकाले दूधको नमुना आधिकारिक रूपमा संकलन गरी प्रयोगशालामा परीक्षण गर्नु नै वास्तविकता पत्ता लगाउने आधार हुने उनीहरूको भनाइ छ।
दूधको गुणस्तर परीक्षण गर्दा चिल्लो पदार्थ (Fat), दूधको चिल्लोबाहेकको ठोस पदार्थ (SNF), अम्लता, सूक्ष्मजीव तथा सम्भावित मिसावटलगायतका विषय परीक्षण गर्नुपर्ने हुन्छ।
सम्बन्धित निकायसँग तत्काल अनुगमनको माग
उपभोक्ताले स्थानीय तह, खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकाय तथा अन्य सरोकारवाला कार्यालयलाई डेरीको दूध उत्पादन तथा सङ्कलन प्रक्रिया, प्रशोधन, भण्डारण, चिस्यान, ढुवानी र बिक्री–वितरण प्रणालीको समेत अनुगमन गर्न आग्रह गरेका छन्।

उनीहरूले डेरीबाट बिक्री भइरहेको दूधको नमुना तत्काल संकलन गरी प्रयोगशाला परीक्षण गर्न र परीक्षणबाट कैफियत देखिएमा प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न माग गरेका छन्।
‘दूधजस्तो दैनिक उपभोग्य खाद्य पदार्थको गुणस्तरमा गम्भीर प्रश्न उठिसकेपछि सम्बन्धित निकायले ढिला गर्नु हुँदैन,’ एक नियमित उपभोक्ताले अर्घाखाँची डटकमसँग भने।
उपभोक्ताको स्वास्थ्यसँग जोडिएको विषय
दूधको गुणस्तर प्रत्यक्ष रूपमा जनस्वास्थ्यसँग जोडिएको विषय भएकाले गुनासो आएपछि सम्बन्धित निकायले अनुगमन, नमुना संकलन र प्रयोगशाला परीक्षणलाई प्राथमिकता दिनुपर्ने उपभोक्ताको माग छ।
यदि परीक्षणबाट दूध तोकिएको गुणस्तर तथा मापदण्डअनुसार नभएको पुष्टि भएमा सम्बन्धित व्यवसायी वा संस्थामाथि प्रचलित कानूनअनुसार कारबाही हुनुपर्ने उनीहरूको माग छ।
तर हालसम्म दूधमा मिसावट वा गुणस्तरहीनता भएको आधिकारिक रूपमा पुष्टि भइसकेको छैन। उपभोक्ताले अनुभव गरेको समस्या वास्तविक रूपमा के कारणले आएको हो भन्ने कुरा प्रयोगशाला परीक्षण र सम्बन्धित निकायको स्थलगत अनुगमनपछि मात्र यकिन हुनेछ।
अर्घाखाँची डटकमले उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा यो विषय सार्वजनिक गरेको हो। सम्बन्धित डेरी तथा सरोकारवाला निकायको आधिकारिक धारणा प्राप्त भएमा त्यसलाई समेत प्राथमिकताका साथ प्रकाशन गरिनेछ।