दुईपल्टको च्याम्पियन फ्रान्स र इङल्यान्डको युरो कप २०१२ मा पहिलो जीत

किभ   – दुईपल्टको च्याम्पियन फ्रान्स र इङल्यान्डले युरो कप २०१२ मा पहिलो जीत शुक्रबार दर्ता गरेका छन् । समूह ‘डी’ मा फ्रान्सले सह-आयोजक युक्रेनमाथि २-० को जित रच्यो । इङल्यान्डले रोमाञ्चक खेलमा स्वीडेनलाई ३-२ ले हरायो ।

फ्रान्सन्सले प्रतिष्ठित प्रतियोगिता सन् २००६ यता पहिलो जित रचेको हो । फिफा वर्डकप २००६ को फाइनल पुगेयता फ्रान्स ठूला प्रतियोगितामा जितविहिन थियो । चार मिनेटको खेलपछि प्रतिस्पर्धा हुरी-बतासको कारण ५७ मिनेट रोकिएपछि पुन प्रतिस्पर्धा सुरु गरिएको थियो ।

पछिल्लोपल्ट सन् २००० मा युरोपेली च्याम्पियन भएकोफ्रान्स र इङल्यान्डले जितसँगै समूहमा ४-४ अंक जोडेका छन् । गोल अन्तरको आधारमा फ्रान्स शीर्षस्थानमा छ । यी दुई पहिलो खेलमा आमनेसामने हुँदा १-१ को नतिजा निस्किएको थियो । पहिलो खेलमा स्वीडेनलाई २-१ ले हराएको युक्रेनको ३ अंक छ । लगातार दोस्रो हारसँगै स्वीडेनको नकआउट प्रवेशको ढोका बन्द भयो ।

युक्रेनविरुद्धकेा जितसँगै लाउरेन्ट ब्लान्कले सम्हालेको फ्रान्सले अपराजित खेल संख्या २३ पुर्‍याएको छ । उसको जितमा जेरेमी मेनेज र योहान काबायेले गोल गरेका थिए । दुवै गोल दोस्रो हाफमा संभव भएको थियो ।

‘काउन्टर एट्याकमा अनपेक्षित रुपमा पहिलो गोल बेहोर्नुपर्‍यो’, युक्रेनी प्रशिक्षक ओलेग ब्लोखिमले भने, ‘त्यो क्षणमा हरेक क्षेत्रमा हामीले गल्ती गर्‍यौं । दोस्रो गोल भएपछि खेल नै सकियो ।’ उनका समकक्षी ब्लान्कले भने, ‘युक्रेन राम्रो फुटबल खेल्न खोजीरहेको थियो । हामी राम्रो गर्न चाहिने स्थानको खोजीमा थियौं । समय र स्थान मिल्यो । त्यसैमा मेनेजले गोल गरे । अनि राम्रो पनि भयो ।’

सब्सिटच्युट थिओ वाल्कोटले महत्वपूर्ण भूमिका निर्वाह गरेपछि इङल्यान्डको जित संभव भयो । जेम्स मिल्नरको स्थानमा मैदान प्रवेश गरेका आर्सनलका मिडफिल्डर वाल्कोटले गोल गर्दै इङल्यान्डलाई २-२ मा पुर्‍याए । त्यसपछि उनकै चलाखीपूर्ण पासमा ड्यानी वेलब्याकले निर्णायक गोल गरे । वेलब्याकको ब्याक हिल गोल लोभलाग्दो थियो ।

आजका खेल

चेक रिपब्लिकविरुद्ध पोल्यान्ड ९:३० बजे

ग्रीसविरुद्ध रुस १२:३० बजे

-एएफपी