बाढीपीडितको राहतका लागि पोखरा विश्वविद्यालयका पदाधिकारी र कर्मचारीले ७० लाख सहयोग गर्ने

काठमाडौं, १३ भदौ । प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पोखरा विश्वविद्यालयले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा आर्थिक सहयोग गर्ने भएको छ। विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीको पारिश्रमिक कट्टा गरी करिब ७० लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय भएको हो।

विश्वविद्यालयको भदौ १३ गते बसेको कार्यकारी परिषद् बैठकले पद र तह अनुसार शिक्षक तथा कर्मचारीबाट रकम संकलन गर्ने निर्णय गरेको हो। निर्णयअनुसार उपकुलपतिबाट एक महिनाको तलब बराबरको रकम योगदान हुनेछ भने प्राध्यापक, प्रशासक, सहप्राध्यापक, सहप्रशासकसहित सोसरहका शिक्षक तथा कर्मचारीको सुरु तलब स्केलको १० दिनको रकम कट्टा गरिनेछ।

यसैगरी, उपप्राध्यापक, उपप्रशासक, प्रशिक्षक, सहायक प्रशासक वा सोसरहका कर्मचारीबाट सात दिन, उपप्रशिक्षक, सहायक प्रशिक्षक, मुख्य सहायक, सहायक वा सोसरहबाट पाँच दिन र श्रेणीविहीन कर्मचारीको दुई दिनको सुरु तलब कट्टा गरिने विश्वविद्यालयले जनाएको छ। यसरी संकलन हुने रकम छिट्टै नै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिनेछ।