भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग

काठमाडौं, १४ भदौं ।नेपालको प्रतिष्ठित व्यावसायिक घराना कयाल ग्रुपले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।

ग्रुपका निर्देशक कुनाल कयालले आइतबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेका हुन्।

कयाल ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्, महामारी तथा विभिन्न सामाजिक कार्यमा यसअघि पनि राहत तथा सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ।

गत बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेको छ।

सरकारको अपिलपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा निजी क्षेत्र, विभिन्न व्यावसायिक घराना, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ।

कयाल  ग्रुपले पनि बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले कोषमा २५ लाख रुपैयाँ योगदान गरेको जनाएको छ।