
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजेदेखि बस्ने गरी निर्णय भएको हो ।

बैठकमा भोटेकोशी बाढीपछिको विपद बारे सभामुख डोलप्रसाद अर्यालले विशेष प्रस्ताव पेस गर्ने तय भएको छ । जसमाथि सबै दलका नेताहरूले बोल्नेछन् । यसअघि भदौ १० मा भोटेकोशी नदीमा बाढी आएको दिनमा प्रतिनिधिसभाको बैठक बसेको थियो ।


संघीय संसद सचिवालयले आजको बैठकमा पेश हुने विशेष प्रस्ताव बारे भनेको छ- ‘प्रतिनिधि सभाको यो बैठक, मिति २०८३ साल भदौ १० गते बुधबार भोटेकोशी – त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रका धेरै सङ्ख्यामा स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता हुनुका साथै ठुलो सङ्ख्यामा मृत्यु भएको र व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गर्दछ । साथै, उक्त घटनाबाट घरबार विहिन भएकाहरूको व्यवस्थापन एवम् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै दिवङ्गतहरूको आत्माको चीर शान्तिको कामना गर्दछ र शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।’




