
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) मा कर्णाली शिवराज र सगरमाथा स्मासर्सले विजयी शुरुवात गरेका छन् । शुक्रबारदेखि शुरु भएको एनभीएलमा कर्णाली र सगरमाथाले विजयी शुरुवात गरेका हुन् ।
खेलको दोस्रो खेलमा कर्णाली शिवराजले अन्नपूर्ण स्पाइकर्स किङ्सलाई ३–१ को सेटमा पराजित गरेको थियो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा कर्णालीले पहिलो सेट २५–२२ ले जितेको थियो भने दोस्रो सेट अन्नपूर्णले २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि कर्णालीले तेस्रो सेट २६–२४ र चौथो सेट २५–२२ ले जित्दै खेल आफ्नो पक्षमा पारेको थियो ।

यसअघि भएको पहिलो खेलमा सगरमाथा स्मासर्सले मधेश वारियर्समाथि ३–१ को जित निकालेको थियो। सगरमाथाले पहिलो र दोस्रो सेट समान २५–२१ ले जितेको थियो। तेस्रो सेट मधेशले २५–२३ ले जिते पनि चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै सगरमाथाले खेल जितेको थियो ।


लिगअन्तर्गत त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज पनि दुई खेल हुनेछन् । पहिलो खेलमा काठमाडौँ रेड्स र मधेश वारियर्सबीच अपराहन्न ४ बजेदेखि शुरु हुने छ भने दोस्रो खेलमा सगरमाथा स्मासर्स र खप्तड फाल्कन्सबीच साँझ ७ बजेदेखि हुनेछ ।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।

भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन् ।




