
काठमाडौं, २४ भदौं । लामिन यामालले गोल गर्दै रायो भालेकानोविरुद्ध बार्सिलोनालाई २–१ को अग्रता दिलाएसँगै आफ्नो खेल जीवनमा ५० गोल पूरा गर्ने सबैभन्दा कान्छा खेलाडीहरूको सूचीमा सामेल भएका छन।
मात्र १९ वर्ष ५५ दिनको उमेरमा यामालले बार्सिलोनाका लागि आफ्नो खेल जीवनमा १०५ गोलमा प्रत्यक्ष योगदान (५३ गोल र ५२ असिस्ट) पुर्याउने आश्चर्यजनक उपलब्धि हासिल गरिसकेको बेला उनको यो नयाँ रेकर्ड पनि बनेको हो ।


क्लबका लागि १५४ औँ सिनियर खेल खेल्ने क्रममा सबै प्रतियोगिताहरूमा यो उनको यो ५०औँ गोलको रेकर्ड बनेको हो। यद्यपि उनी सबैभन्दा कम खेलमा यो उपलब्धि हासिल गर्ने खेलाडी भने होइनन्, खेल संख्याको हिसाबमा उनी भन्दा पहिला नै त्यो कीर्तिमान म्यानचेस्टर सिटीका स्ट्राइकर हालान्डको नाममा रहेको छ भने उमेरका हिसाबले नेयमार उनी भन्दा अगाडी नै रेकर्ड बनाएर बसिसकेका छन् ।

उसो भए, कम उमेर र कम खेलमा नै ५० औँ गोल गर्ने केही चर्चित खेलाडीहरुले कति औँ खेल र कुन उमेर समुहमा ५० औँ गोल गर्न सफल भएका थिए त ? जान्ने कोशिश गरौं ।

अर्लिङ हालान्ड

नर्वेली स्ट्राइकर हालान्डलाई ५० गोलको आँकडा छुन जम्मा ७८ खेल मात्र लाग्यो, जुन उनले १९ वर्ष र १८१ दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए।
आफ्नो देश नर्वेको क्लब मोल्डे र अस्ट्रियाको क्लब एफसी साल्जबर्गका लागि शीर्ष लिगमा ४९ गोल गरिसकेका हालान्ड बोरुसिया डर्टमन्डमा आउँदा नै विश्वका सबैभन्दा आशालाग्दा युवा स्ट्राइकरका रूपमा चिनिइ सकेका थिए।
१८ जनवरी २०२० मा डर्टमन्डका लागि डेब्यु गर्दा उनले आफू कस्तो खेलाडी हुन् भन्ने कुरा प्रमाणित गरेका थिए । उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर अग्सबर्गविरुद्धको ५–२ को जितमा ह्याट्रिक गर्न सफल भए।

अर्लिङ हालान्डले आफ्नो सिनियर करियरमा हालसम्म कुल ३३० भन्दा बढी गोल गरिसकेका छन्। नर्वे राष्ट्रिय टोलीका जम्मा ५५ खेलमा ६२ गोल गर्दै उनले नर्वेको इतिहासमै सर्वकालीन शीर्ष गोलकर्ताको रूपमा रेकर्ड बनाउन सफल भएका छन् ।
नेयमार जुनियर
उमेरको हिसाबले यामाललाई पछि पार्ने एकमात्र खेलाडी नेयमार हुन्, उनले १८ वर्ष २७२ दिनको उमेरमा ५० गोलको कोशेढुङ्गा पार गरेका थिए र यो उपलब्धि ५० खेल कम अर्थात् १०४ खेलमा हासिल गरेका थिए।
उनले सन् २०१० को नोभेम्बर ३ मा सान्तोसका लागि भिटोरियाविरुद्ध गोल गर्दै आफ्नो ५०औँ गोल पूरा गरेका थिए, यो घटना उनी क्याम्प नोउ (बार्सिलोना) जानुभन्दा करिब तीन वर्षअघिको हो।

नेयमार जुनियरले आफ्नो सिनियर करियरमा हालसम्म कुल ४९५ भन्दा बढी आधिकारिक गोल गरिसकेका छन्। ब्राजिल राष्ट्रिय टोलीका लागि ७९ गोल गरेर ब्राजिलका लागि महान् खेलाडी पेलेको ७७ गोलको कीर्तिमान तोड्दै सर्वकालीन शीर्ष गोलकर्ता बनेका छन् ।
किलियन एम्बाप्पे
रियल मड्रिडमा यामालका प्रमुख प्रतिद्वन्द्वी एम्बाप्पेले मोनाको र पेरिस सेन्ट जर्मेनका लागि कुल १०६ खेल खेलेपछि १९ वर्ष २४१ दिनको उमेरमा ५० औँ गोलको आँकडा पूरा गरेका थिए।
अघिल्लो सिजन ‘लोन’ मा खेलेपछि पिएसजीसँग स्थायी सम्झौता गरेपछिको आफ्नो पहिलो ‘लिग १’ खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्, यसअघि उनले फ्रान्सले क्रोएसियालाई हराएर जितेको फिफा विश्वकपको फाइनलमा दुई गोल गरेका थिए। १८ अगस्ट २०१८ मा गुइनगाम्प विरुद्धको खेलमा ३–१ को जित दिलाउने क्रममा उनले गरेका दुई गोलमध्ये पहिलो गोलमार्फत उनले सिनियर क्लब फुटबलमा आफ्नो ५० औँ गोल अर्थात हाफ सेन्चुरी पूरा गरेका थिए।
किलियन एम्बाप्पेले आफ्नो सिनियर करियरमा हालसम्म कुल ३८५ भन्दा बढी आधिकारिक गोल गरिसकेका छन्। पेरिस सेन्ट जर्मेनका लागि २५६ गोल गरेर क्लब फुटबलको इतिहासमै सर्वाधिक गोलकर्ताको रेकर्ड उनको नाममा रहेको छ ।
क्रिस्टियानो रोनाल्डो
म्यानचेस्टर युनाइटेडका लागि २०८ खेल खेलेपछि २२ वर्ष र ४२ दिनको उमेरमा यो कोशेढुङ्गा पार गर्दै रोनाल्डो यस सूचीमा सामेल हुने पछिल्ला खेलाडी बनेका छन्। उनले १९ मार्च २००७ मा मिडल्सब्रो विरुद्धको एफए कपको क्वार्टरफाइनल पुनः खेलमा खेलको एकमात्र गोल गरेका थिए। जहाँ उनको ५० औँ गोलको रेकर्ड बनेको थियो ।
करिब दुई दशक पछि ‘सीआर ७’ आफ्नो करियरको १,०००औँ गोलको नजिकको पुगिरहेका छन । क्रिस्टियानो रोनाल्डोले आफ्नो सिनियर करियरमा हालसम्म कुल ९७८ गोल गरिसकेका छन्। उनी पुरुष फुटबलको इतिहासमा आधिकारिक खेलहरूमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। पोर्चुगलका लागि १४६ गोल गरेसँगै पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासको विश्व कीर्तिमान पनि उनको नाममा रहेको छ ।
लिओनेल मेसी
बार्सिलोनाका लागि सर्वाधिक गोलकर्ता रहेका मेसी आफ्नो क्लब करियरको ५०औँ गोल पूरा गर्दाको उमेरका हिसाबले यामालभन्दा पछि छन्। अर्जेन्टिनाका कप्तान मेसीलाई बार्सिलोनाका लागि ५० गोलको आँकडा छुने क्रममा ११९ खेलको आवश्यकता परेको थियो, उनले २२ अक्टोबर २००८ मा बासेलविरुद्धको खेलमा २१ वर्ष १२० दिनको उमेरमा यो उपलब्धि हासिल गरेका थिए।
लियोनेल मेसीले आफ्नो सिनियर करियरमा हालसम्म कुल ९२७ आधिकारिक गोल गरिसकेका छन्। अर्जेन्टिनाका लागि १२५ गोल गरेर दक्षिण अमेरिकी पुरुष फुटबल इतिहासमा सर्वाधिक गोलको कीर्तिमान उनको नाममा रहेको छ ।




