
काठमाडौँ । सूर्यको सबैभन्दा नजिक र सौर्यमण्डलको सबैभन्दा सानो ग्रह बुधको सतहबारे गरिएको नयाँ अध्ययनले यसको प्राचीन इतिहासमा नयाँ तथ्य सार्वजनिक गरेको छ । वैज्ञानिकहरूका अनुसार बुधको सतहमा सिलिकन डाइअक्साइडको मात्रा यसअघि अनुमान गरिएको भन्दा निकै कम, करिब ३७ प्रतिशत मात्रै रहेको पाइएको छ ।
जर्मनीका वैज्ञानिक संस्थाका शोधकर्ताहरूले गरेको अध्ययनअनुसार बुधको सतहमा कम सिलिकन डाइअक्साइड हुनुबाट अर्बौं वर्षअघि ग्रहको भित्री भाग र ज्वालामुखीय वातावरण अनुमान गरिएभन्दा निकै तातो रहेको हुन सक्ने देखिएको छ। यो अध्ययन ‘प्लेनेटरी रिसर्च जर्नल’मा प्रकाशित भएको छ ।


वैज्ञानिकहरूका अनुसार बुधका प्राचीन ज्वालामुखीबाट निस्किएको लाभा ग्रहको भित्री तहको निकै गहिरो भागबाट आएको हुन सक्छ । त्यहाँ अत्यधिक तापक्रमका कारण ठूलो मात्रामा चट्टान पग्लिएको र त्यसबाट बनेको लाभामा सिलिकन डाइअक्साइडको मात्रा कम रहेको हुन सक्ने उनीहरूको अनुमान छ ।

यद्यपि बुधको प्रारम्भिक सतहमा सिलिकन डाइअक्साइड बढी रहेको र पछि ग्रहले अक्सिजन गुमाएका कारण यसको मात्रा घटेको हुन सक्ने अर्को सम्भावना पनि वैज्ञानिकहरूले औँल्याएका छन् ।
बुधका चट्टानका प्रत्यक्ष नमुना पृथ्वीमा उपलब्ध नभएकाले वैज्ञानिकहरूले यसको सतहबाट प्राप्त हुने अवरक्त विकिरणको अध्ययन गरेका थिए । अध्ययनलाई अझै सटीक बनाउन प्रयोगशालामा करिब आधा मिलिमिटर आकारका काँचका साना गोलाहरू तयार गरी तिनमा निश्चित मात्रामा सिलिकन डाइअक्साइड राखेर अवरक्त गुण परीक्षण गरिएको थियो ।

यो विधि पहिले चन्द्रमामा परीक्षण गरिएको थियो। चन्द्रमाबाट प्राप्त वास्तविक चट्टानका नमुना र अन्तरिक्ष यानबाट प्राप्त तथ्याङ्क तुलना गरेर विधिको विश्वसनीयता परीक्षण गरिएको थियो । त्यसपछि यही विधि बुधमा प्रयोग गर्दा पृथ्वीबाट गरिएको अवरक्त अवलोकनका आधारमा बुधको सतहमा करिब ३७ प्रतिशत सिलिकन डाइअक्साइड रहेको अनुमान गरिएको हो ।
अब युरोपेली अन्तरिक्ष निकाय र जापानको संयुक्त ‘बेपीकोलम्बो’ अभियानबाट यसबारे थप स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ । बुधको कक्षमा पुगेर उक्त अभियानले उच्च गुणस्तरका अवरक्त तथ्याङ्क संकलन गर्नेछ। यसबाट बुधको सतहमा सिलिकन डाइअक्साइडको वास्तविक मात्रा तथा यसको अत्यन्त तातो ज्वालामुखीय अतीतबारे थप जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ ।





