
काठमाडौं । नेपाल–भारत सीमापार विद्युत् व्यापारका लागि महत्वपूर्ण मानिएको न्यू बुटवल सबस्टेसनदेखि भारत सीमासम्मको ४०० केभी प्रसारण लाइनको १८ किलोमिटर खण्ड निर्माण सम्पन्न भएको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले उक्त प्रसारण लाइन खण्ड निर्माण सम्पन्न गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको अनुरोधपछि निर्माणलाई तीव्रता दिइएको र निर्धारित समयसीमाभित्रै काम पूरा गरिएको एमसिए–नेपालले जनाएको छ ।

न्यू बुटवल सबस्टेसनमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. घनश्याम उपाध्यायले प्रसारण लाइन निर्माण सम्पन्न हुनु नेपालको विद्युत् पूर्वाधार र सीमापार ऊर्जा सञ्जाल विस्तारका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।


उनले एमसीसी नेपाल कम्प्याक्टमार्फत नेपालको विद्युत् पूर्वाधार विकासमा सहयोग पु¥याएकोमा अमेरिकी सरकारप्रति आभार व्यक्त गर्दै आयोजना सम्पन्न भएपछि प्राप्त हुने लाभका लागि नेपाल सरकार प्रतीक्षारत रहेको बताए ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले विद्युत् उत्पादन र प्रसारण क्षमता विस्तार गरिरहेको अवस्थामा सीमापार विद्युत् सम्पर्क त्यसको महत्वपूर्ण हिस्सा भएको बताए । नेपालतर्फको प्रसारण लाइन निर्माण सम्पन्न हुनु सरकार, कार्यान्वयन निकाय, विकास साझेदार र स्थानीय समुदायबीचको समन्वयबाट पूर्वाधार निर्माणमा उपलब्धि हासिल गर्न सकिने उदाहरण भएको उनको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पनि प्रसारण लाइन निर्माण सम्पन्न हुनु ऊर्जा क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । यसले नेपाल र भारतबीचको विद्युत् सञ्जाललाई थप सुदृढ बनाउने आधार तयार गरेको उनले बताए ।
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भए पनि यसबाट तत्काल विद्युत् प्रवाह भने सुरु हुने छैन । प्रसारण लाइन सञ्चालनमा ल्याउन नेपाल–भारत सीमापार विद्युत् प्रवाहका लागि आवश्यक स्वीकृति तथा अन्य प्राविधिक काम पूरा गर्न बाँकी छ ।


एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले नेपाल सरकारको आग्रहअनुसार सीमित समयभित्र निर्माण सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई परिचालन गरिएको बताए ।
उनका अनुसार अब प्रसारण लाइनमा विद्युत् प्रवाह सुरु गर्न आवश्यक बाँकी काम पूरा गर्ने दिशामा काम अघि बढाइनेछ । यसले नेपाल र भारतबीच मात्र नभई बृहत्तर क्षेत्रीय विद्युत् सञ्जाल र ऊर्जा सहकार्य विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइन निर्माणमा नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण, एमसिए–नेपाल, निर्माण व्यवसायी, परामर्शदाता, स्थानीय सरकार तथा स्थानीय समुदायको सहयोग महत्वपूर्ण रहेको बताइन् ।





