
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनमार्फत निर्वाचित कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ ।
आईतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यको रुपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको हो । उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्यसमिति बाहिर रहेका १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूले केन्द्रीय सदस्यको हैसियत पाउनेछन् ।

निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए । उहाँले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाडौंको खुला मञ्चमा गर्ने र बन्द सत्र पनि त्यहीँ आयोजना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद, सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘बैठकले विशेष गरेर नेपाली कांग्रेस पार्टीको १५औँ महाधिवेशन, राष्ट्रिय महाधिवेशन असोज १६, १७, १८, १९ गते सम्पन्न गर्नेगरी वडा अधिवेशन ३ र ४ शुरु गर्ने अन्तिम निर्णय गरियो । यो अधिवेशन ऐतिहासिक ठाउँ २०३६ सालमा हाम्रा जननेता बिपी कोइरालाले नेपाली जनताको स्वतन्त्रता र अधिकारको लागि उद्घोष गरेको ठाउँ, गणेशमानजीले नेपाली जनतालाई ४६ सालको आन्दोलनमा नेतृत्व दिएको ठाउँ खुला मञ्चमा उद्घाटन गर्ने निर्णय पनि गरेका छौँ । बन्द सत्र पनि त्यहीँ गर्ने निर्णय गरेका छौँ । विधानले तोकिएको व्यवस्थाअनुसार अधिवेशनलाई सुसम्पन्न गर्नुपर्ने तहगत निकायहरूले आफ्ना कर्तव्यहरू, जिम्मेवारीहरूलाई पूरा गर्नेछन् । सबैको सहभागिता सुनिश्चित होस् भनेर संवाद, सहकार्य र सहमतिको अधिकतम लचकदार प्रयास गरेका छौँ । जो १४औँ महाधिवेशनमा निर्वाचित हुनुहुन्थ्यो । ती साथीहरू १५औँमा हुनुहुन्न । विशेष अधिवेशनपछि हुनुहुन्न । १४औँ महाधिवेशनमा हुनुहुन्थ्यो, त्यसमा के गरिएको छ भने महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुपूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्यसमपतिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधानबमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गरेको छ । उहाँहरुले भाग लिन पाउनुहुन्छ । विधानमा भएको व्यवस्था भनेका छौँ । यसको प्रक्रिया छ, केही बाधा अड्काउ फुकाउनुपर्ने छ, मनोनित गर्नुपर्ला, सोहीअनुसार अघि बढ्छौँ ।’

कांग्रेसले १६ देखि १९ असोजसम्म १५औं महाधिवेशनको मिति तोकेको छ । असोज ३ र ४ गते वडा तहको अधिवेशनको मिति तोकिएको छ । पार्टीले यसअघि नै गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रुपमा अद्यावधिक नभएकाहरुलाई समेत महाधिवेशनमा सहभागि गराउने निर्णय गरिसकेको छ ।




