काठमाडौ – बाबुराम भट्टराई सरकारले साउनदेखि लागू हुने गरी विद्युत् महसुलमा २० प्रतिशत मूल्य बढाएको छ । विद्युत् महसुल निर्धारण आयोगले महसुल बढाउने निर्णय गरेको हो । आयोगले २० युनिटभन्दा कम खपत गर्ने ग्राहकले तिर्नुपर्ने दर भने यथावत् राखेको छ । २० युनिटभन्दा बढी उपभोग गर्नेले बिजुलीको महसुल उपभोगका अधारमा बढी तिर्नुपर्ने छ ।
‘साउन १ गतेदेखि औसत २० प्रतिशतका दरले बिजुली महसुल बढ्यो,’ आयोगका सदस्य पशुपति मुरारकाले भने । महसुल बढेपछि विद्युत् प्राधिकरणको वाषिर्क घाटा साढे ४ अर्बले घट्ने उनले बताए । अहिले प्राधिकरणको वाषिर्क घाटा ७ अर्ब छ । २०५८ देखि विद्युत् महसुल बढेको थिएन ।
घरायसी प्रयोगमा अब २० युनिटसम्म खपत गर्ने ग्रहकले प्रति युनिट ४ रुपैयाँ, २१ देखि ५० युनिटसम्म ७ रुपैयाँ ३० पैसा, ५१ देखि १ सय ५० युनिटमा ८ रुपैयाँ ६० पैसा,१ सय ५१ देखि २ सय ५० सम्म ९ रुपैयाँ ५० पैसा र २ सय ५१ भन्दा माथि प्रति युनिट ११ रुपैयाँ शुल्क लाग्ने छ । – RSS



