आज हरिशयनी एकादशी, तुलसीको विरुवा रोप्ने दिन

आज हरिशयनी एकादशी । तुलसीको विरुवा रोप्ने दिन । हरिशयनी एकादशीका दिन आज हिन्दु धर्मावलम्बीहरुले घर आँगनमा तुलसीका मठमा तुलसीको बिरुवा रोप्ने प्रचलन छ । एक महिनाअघि विजारोपण गरिएको तुलसीलाई आज रोप्ने गरिन्छ ।

 

धार्मिकसँगै तुलसी वैज्ञानिक हिसाबले पनि उपयोगी वनस्पति रहेको विज्ञहरु बताउँछन् । आयुर्वेदका जानकारका अनुसार तुलसीमा एकसय एक प्रकारको रोग निवारण गर्ने शक्ति हुन्छ । त्यसैले जडिबुटीको औषधिमा तुलसीको प्रयोग धेरै गरिन्छ ।

 

तुलसीलाई भगवान विष्णुको अवतारका रुपमा लिएर पुजा गर्ने प्रचलन रहेको छ । पौराणिक कथा अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको थियो । संघर्षको थकानबाट आराम लिन भगवान विष्णुले बद्री आश्रमको हेमवती गुफामा शयन गरेको सम्झनामा आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

 

वर्षमा पर्ने २४ वटा एकादशीमध्ये चतर्मास ब्रत शुरु हुने हरिशयनी एकादशी र ब्रत समाप्त हुने हरिबोधनी एकादशीलाई ठूलो एकादशी भन्ने गरिन्छ । यसै अवसरमा आज त्रिवेणी रिडि रुद्रेबेणि रेसुङ्गा रामघाट देवघाट लगायतका स्थानमा स्नान गर्नेहरुको भीड लागेको छ ।

 

– RSS