बाढीले क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य जारी

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुंगे पुलहरूको मर्मत कार्य अगाडी बढाइएको छ ।

क्षतिग्रस्त भएकामध्ये १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु भइसकेको छ । धादिङको कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन् । त्यसैगरी, नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ । यी पुलहरू असोज २० गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको छ ।

यसका साथै बाढीबाट प्रभावित थप ८ वटा झोलुङ्गे पुलहरूको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको छ । मर्मतमा आवश्यक डेकलगायत सामग्री खरिदका लागि विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइ पहिलो चरणको  सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणको स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ ।

यसबाहेक उक्त करिडोरमा मर्मत नै हुन नसक्ने गरी क्षति भएका ३३ वटा झोलुङ्गे पुलको भने पुनःनिर्माणका लागि भदाै १७ गते बोलपत्र आह्वान भइसकेको छ । पुल निर्माण तथा मर्मतका लागि अत्यावश्यक मानिने लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो ।