भोटेकोशी बाढीपछि नेपाललाई भारतको ऊर्जा सहारा, दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण जलविद्युत् आयोजनामा क्षति पुगेर नेपालको विद्युत् उत्पादन प्रभावित भएपछि भारतले नेपाललाई दैनिक ६५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भएको छ।

भारत सरकारको ऊर्जा मन्त्रालयले नेपालमा उत्पन्न ऊर्जा संकटलाई सम्बोधन गर्न सेप्टेम्बर १३ देखि डिसेम्बर ३१, २०२६ सम्म दैनिक १८ घण्टासम्म उक्त विद्युत् उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।

भारतबाट उपलब्ध हुने विद्युत् मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किटटनकपुर–महेन्द्रनगर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत नेपाल भित्रिनेछ। मुजफ्फरपुर–ढल्केबरबाट अधिकतम ६०० मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् उपलब्ध हुनेछ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले विभिन्न जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् उत्पादन घटेको थियो। यही अवस्थालाई ध्यानमा राख्दै भारतले संकटको समयमा नेपाललाई ऊर्जा सहयोग गर्ने निर्णय गरेको हो।

भारत सरकारको यो निर्णयलाई विपद्का कारण प्रभावित नेपालको ऊर्जा प्रणालीलाई तत्काल राहत दिन गरिएको महत्वपूर्ण ऊर्जा सहकार्यका रूपमा हेरिएको छ। भारत र नेपालबीच विद्युत् व्यापार, सीमापार प्रसारण लाइन तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यका विभिन्न संयन्त्र सञ्चालनमा छन्।

भारतले नेपाललाई ऊर्जा संकटको समयमा दिएको यो सहयोगले दुई देशबीचको ऊर्जा सहकार्य र आपसी सहयोगको निरन्तरतासमेत थप उजागर गरेको छ।