संसदमा उठ्यो ब्रिक्स सम्मेलनदेखि इभी गाडीमा आगो लागेकोसम्मका विषय

काठमाडौं, ३१ भदौ । प्रतिनिधिसभामा सांसदहरुले भोटेकोशी बाढीपछिको खोज, उद्धार, राहत र पुन:स्थापनालाई प्रभावकारी बनाउन संसद्‌बाट सर्वदलीय समिति गठन हुनुपर्ने, इभी गाडीमा आगो लागेको र ब्रिक्स सम्मेलनमा नेपालको कूटनीतिक क्षमताको जिषयमा बताएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा भाग लिँदै उनीहरुले विपद्पछिको उद्धारका साथै सुरक्षित यातायातका लागि सडक सुरक्षामा ध्यान दिन र चालकको अनुभवलाई अपरिहार्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

रास्वपा सांसद पुकार बमले पछिल्लो समय विद्युतीय सवारीसाधन ९ईभी० दुर्घटनाको विषयलाई गाडीमा मात्रै सीमित नगरी समग्र सडक सुरक्षा प्रणालीसँग जोडेर हेर्नुपर्ने बताए ।

उनले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखोलामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सुरज भट्टराई, नरबहादुर सिंह ठकुरी, भुनेश्वर साह कानु र सरफरोस मियाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।

उनले सवारी चालकमा देखिएको लापरबाही, कम उमेर तथा अनुभवको कमी र सार्वजनिक सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया पर्याप्त वैज्ञानिक तथा कडा भए–नभएको विषयमा प्रश्न उठाए ।

बमले दुर्घटनामा परेको ईभीका चालकको उमेर २० वर्ष रहेको उल्लेख गर्दै दुर्घटनापछि गाडीलाई मात्रै दोष दिनुभन्दा चालकको सीप, अनुभव, लाइसेन्स प्रणाली र नियमन पक्षलाई समेत अध्ययन गर्नुपर्ने बताए ।

उनका अनुसार ईभी प्रविधि अन्य सवारीसाधनभन्दा फरक भएकाले यसको सुरक्षित प्रयोगबारे नागरिकलाई आवश्यक जानकारी दिनुपर्ने आवश्यकता छ । ब्याट्रीको अवस्था पहिचान गर्ने, चार्जिङका क्रममा अपनाउनुपर्ने सावधानी, दुर्घटना हुँदा गर्नुपर्ने काम र आगलागी भएमा सुरक्षित रूपमा बाहिरिने उपायबारे सरकारले व्यवस्थित रूपमा जानकारी दिनुपर्ने उनले बताए ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा सर्वसाधारणले अस्पतालमा उपचारका लागि लामो समयसम्म लाइन बस्नुपर्ने र विभिन्न समस्या भोग्नुपरेको बताएकी छन् ।

सांसद शर्माले पछिल्लो उदाहरणका रूपमा बबिता पासवानको घटनालाई उल्लेख गरिन् । उनले संविधानको धारा ३८ ले प्रजनन स्वास्थ्यको हक सुनिश्चित गरेको तथा सुरक्षित मातृत्व ऐन, २०७५ ले आकस्मिक प्रसूति सेवा अनिवार्य गरेको उल्लेख गर्दै कानुनी व्यवस्था व्यवहारमा कार्यान्वयन हुन नसकेको बताइन् ।

images

‘सरकारले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी नबनाउँदा आज सर्वसाधारण जनताले अस्पतालमा उपचार गर्न नपाएर लामबद्ध र हैरानी खेप्नु परेको छ,’ उनले भनिन् ।