स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ शैली स्थापित

Spain's national soccer team members pose for a family photo with members of Spain's royal family at the Zarzuela Palace in Madrid

 

– एजेन्सी

 

मड्रिड – इटालीलाई आइतबार किभको फाइनलमा ४-० ले हराउँदै युरो २०१२ को उपाधि उचालेपछि स्पेनले सर्वकालीन उत्कृष्ट अन्तर्राष्ट्रिय फुटबल टोलीको पहिचानमा दाबेदारी गरेको छ।

 
जिनेदिन जिदानको फ्रान्स वा १९७० को दशकको पश्चिम जर्मन टोलीभन्दा स्पेनले बढी उपलब्धि हासिल गरिसकेको छ। युरोपेली फुटबलको इतिहासमा युरो उपाधि रक्षा गर्ने पहिलो टोलीका रूपमा स्पेनले कीर्तिमान बनाएको छ। ब्राजिलको लोकप्रिय टोली होस् वा चारपटकको विश्व विजेता इटाली या योहान क्रायफको नेदरल्यान्डस कसैले पनि अहिलेसम्म लगातार दुई महादेसीय कपको बीचमा विश्वकप उचाल्न सकेका छैनन्। कलात्मक प्रविधियुक्त खेल, रचनात्मक मुभमेन्ट र लोभलाग्दा पाससँगै स्पेनले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ शैली स्थापित गरेको छ।

 

स्पेनको शैली आलोचित भइरहेका बेला इटालीलाई एक दिन भाग्यले साथ नदिँदा भिसेन्टे डेल बोस्कीको साबिक विजेता चार गोल बर्साउँदै आलोचकको मुख थुन्न सफल भएको थियो। थुप्रै पास खेलेर बल पोजेसनमा हाबी नभए पनि कम आक्रमण गर्ने भनेर स्पेन आलोचित थियो, तर किभको ओलम्पिक रंगशालामा फुटबलमा हुनसक्ने सम्मको उत्कृष्टता प्रदर्शन गरेर डेल बोस्कीको टोलीले आफ्नो शैली प्रमाणित गरेको थियो।

 
‘हाम्रो राष्ट्रिय टोलीको बाटो र शैली प्रस्ट छ,’ आगामी विश्वकपसम्म टोलीमा सम्झौता लम्ब्याएका डेल बोस्कीले अब विश्वकप छनोटमा केन्द्रित हुने बताउँदै भने, ‘अब हामी २०१४ मा ब्राजिलमा हुने विश्वकप र त्यसपछिलाई समेत योजना बनाउन थालेका छांै।’
सेप्टेम्बर ११ मा विश्वकप छनोट खेल्न जर्जियाको भ्रमण गर्नुअघि स्पेनले प्युर्टो रिको र साउदी अरेबियाविरुद्ध मैत्रीपूर्ण म्याच खेल्नेछ। विश्वकप छनोटको समूहमा स्पेनलाई फ्रान्सले कडा चुनौती दिने अपेक्षा गरिएको छ। युरोको क्वार्टरफाइनलमा भोगेको २-० को पराजयको बदला लिन फ्रान्ससामु राम्रो अवसर मिल्नेछ। तर फ्रान्सका प्रशिक्षक लाउरेन्ट ब्लांकले राजीनामा दिइसकेका कारण टोलीको चुनौती धर्मराउन सक्ने अनुमान गरिएको छ।


विश्वकप, युरोपियन च्याम्पियनसिप र च्याम्पियन्स लिग जित्ने पहिलो प्रशिक्षक डेल बोस्कीसामु पनि आगामी दिनमा चुनौती कम छैन। फुटबल इतिहासकै सर्वोत्कृष्ट मानिएको टोलीमा थप सुधार आवश्यक भएको भनिएका बेला सुधार्नु उनका लागि मुख्य टाउको दुखाइ बन्नेछ। स्पेनको पास शैली कम्तीमा तत्कालका लागि परिवर्तन हुने छैन्, तर प्रदर्शनलाई थप प्रभावकारी बनाउन उनले यसको विकल्प सोच्नुपर्ने अवस्था भने आइसकेको पण्डितहरू बताउँछन्।


युरो २०१२ मा स्पेनले बल पोजेसनका हिसाबले सबै खेल आफ्नो नियन्त्रणमा राखे पनि उनीहरूको ‘टिकीटाका शैली’ (छोटो पास) उराठलाग्दो भएको आलोचना निकै चर्को रूपमा भए। नियमित स्ट्राइकरबिना सेस फाब्रिगासलाई ‘फल्स नाइन’ (स्ट्राइकर नराख्दा मिडफिल्डमा बसेर खेल मिलाउनुका साथै आक्रमणको जिम्मेवारी पाउने प्लेमेकर) का रूपमा जोखिम मोल्ने ६१ वर्षे प्रशिक्षकको परिक्षण पनि परिवर्तन जरुरी भएको बताइएको छ। डेल बोस्कीको यस्तो रणनीतिले लगातार दुई युरोको फाइनलमा गोल गर्ने खेलाडी बनेका फर्नान्डो टोरेजका साथै फर्नान्डो लोरेन्टे सबैभन्दा पीडित भए। टोरेजले युरो २०१२ मा कमै मात्र मौका पाए भने लोरेन्टेले पोल्यान्ड र युक्रेनमा मैदान उत्रने मौकासमेत पाएनन्।


खुट्टा भाँचिएका कारण युरोमा अनुपस्थित स्ट्राइकर चाँडै फिट भएर मैदान फर्किने अपेक्षा गरिएको छ। विश्वकपसम्म स्पेनको मिडफिल्डमा प्रशिक्षकले खासै चिन्ता गर्नु नपर्ला, तर स्पेनिस स्वर्णिम कालले निरन्तरता पाउनेमा भने शंका कायम छ। जाभी विश्वकपसम्ममा ३४ वर्षको भइसक्ने छन् भने आन्द्रेइ इनिस्टा ३० तथा जाभी अलोन्सो ३२ वर्षका हुने छन्। त्यसैले डेल बोस्कीले यी स्टारहरूको बिदाइपछि स्पेनले कसरी खेल्ने भन्ने विषयमा गृहकार्य गर्नु जरुरी छ।
रक्षापंक्तिमा स्पेनले २३ वर्षे लेफ्ट ब्याक जोर्डी अल्बाजस्ता उदीयमान खेलाडी पाएको छ। अल्बाले युरो २०१२ मा उत्कृष्ट प्रदर्शन गरेका थिए। कार्लोस पुयोल ३५ वर्षमा प्रवेश गरिसकेको अवस्थामा जेरार्ड पिके (२५) र सर्जियो रामोस (२६) ले सेन्टर ब्याकमा समझदारी बढाउने मौका पाउने छन्।


एथलेटिक बिल्बाउको जोडी जाभी मार्टिनेज (२३) र इकर मुनिइन (१९) तथा थियागो अल्कान्टारा (२१) स्पेनिस टिमको पुनर्संरचनाको हिस्सा बन्न सक्छन्। ‘स्पेनको प्रतिभा निस्कने क्रम निकै गहिराइसम्म भएकाले अझै केही समय हामीले चिन्ता गर्नु जरुरी छैन। प्रतिद्वन्द्वीका लागि यो खराब समाचार हुनसक्छ, तर हामीसँग विश्वकपमा उपाधि रक्षा गर्न पर्याप्त वैकल्पिक युवा स्टार र वैकल्पिक रणनीति छन्,’ डेल बोस्कीले विश्वास व्यक्त गरे, ‘हामी अब भविष्यलाई तयारी गर्दैछौं। स्पेनको यो महान टोलीको प्रदर्शनले निरन्तरता पाउनेछ।’