
-केशव पन्थी, अर्घाखाँची डटकम्
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकास्थित ठूलो बरापमा कानुनी साक्षरता अभिवृद्धि तथा सामाजिक रूपान्तरण गर्ने मुख्य उद्देश्यका साथ कानुनी जागरूकता तथा परामर्श सेवाका लागि घुम्ती क्लिनिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। ‘हाम्रो साहस’ कार्यक्रमको आयोजना तथा युवा सरोकार महासंघको सहजीकरणमा उक्त कार्यक्रमको सञ्चालन गरिएको हो।

गाउँ-गाउँमा कानुनी पहुँच नपुगेका नागरिकहरूलाई उनीहरूकै आँगनमा पुगेर कानुनी अधिकार, कर्तव्य र प्रक्रियाबारे सचेत गराउने लक्ष्यका साथ घुम्ती क्लिनिक सञ्चालन गरिएको आयोजकले जनाएको छ।


कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिबश बहादुर जिसिले आम नागरिकले जान्नुपर्ने आधारभूत कानुनी व्यवस्थाहरू, अपराध नियन्त्रण, साइबर अपराध तथा समाजमा हुने विभिन्न हिंसाका घटनाहरूबारे सरल र व्यावहारिक तरिकाले जानकारी गराउनुभएको थियो।


उहाँले कानुनी अज्ञानताका कारण धेरै मानिसहरू ठगी र पीडामा पर्ने गरेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सर्वसाधारणमा कानुनी चेतना फैलाउन ठूलो मद्दत पुर्याउने बताउनुभयो।


त्यसैगरी, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल, शिक्षा विकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख विष्णु प्रसाद वेल्वासे तथा सहायक जिल्ला न्यायाधिवक्ता विष्णु हरि मरासिनीले कानुन, शिक्षा, नागरिक अधिकार र कानुनी उपचारका दायराहरूबारे सचेतनामूलक मन्तव्य व्यक्त गर्नुभएको थियो।

स्थानीयका प्रश्न र कानुनी परामर्श
घुम्ती क्लिनिकको मुख्य आकर्षणका रूपमा स्थानीय सर्वसाधारणका लागि खुला परामर्श सत्र सञ्चालन गरिएको थियो। सो क्रममा उपस्थिति स्थानीय जनताले आफूले भोगिरहेका विभिन्न कानुनी उल्झन, समस्या तथा अन्य जिज्ञासाहरू प्रत्यक्ष रूपमा राखेका थिए। कार्यक्रममा सहभागी कानुनी तथा प्रशासनिक निकायका प्रतिनिधिहरूले सर्वसाधारणका प्रश्नहरूको कानुनी उत्तर दिँदै समस्या समाधानका उपायहरू र प्रक्रियाबारे परामर्श प्रदान गर्नुभएको थियो।


कार्यक्रम अर्घाखाँचीका वरिष्ठ कृषक पुष्कर बंन्जाडे, गैरसरकारी महासंघ अर्घाखाँचीका अध्यक्ष ठाकुर प्रसाद अधिकारी, दलित अधिकार कर्मी संन्जय नेपाली, सिर्जनशिल फाउन्डेसन नेपाल अर्घाखाँचीका अध्यक्ष फर्सुराम पाण्डे लगायतले आफ्नो बिचार राख्नुभएको थियो।

’हाम्रो साहस’की जिल्ला संयोजक राधा नेपालीको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सामाजिक संघ-संस्थाका प्रतिनिधिहरू, सरकारी कार्यालयका पदाधिकारीहरू, बुद्धिजीवी, पत्रकार तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।




