
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार हाल उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।


हाल कोशी र बागमती प्रदेशका सबै भू–भाग, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई भू–भागमा आंशिक बदली रहनेछ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।




