
काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।

हाल कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।


आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थान तथा मधेश प्रदेश एवं गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी र मधेश प्रदेशलगायत देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




